टोकियो, २४ फागुन । हृदयाघातका कारण गत शुक्रबार जापानमा मृत्यु भएकी काभ्रे काभ्रे–५ दारिमबोट घर भई टोकियोको जुजोमा बस्दै आएकी ४१ वर्षीय खिलकुमारी ढकालको परिवारलाई टोकियोमा क्रियाशील नेपाली समाजले आर्थिक सहयोगको अभियान चलाएको छ ।
घटनालगत्तै सहयोगका लागि जुटेका काभ्रे समाजका अध्यक्ष तथा व्यवसायी भुवन अधिकारीको पहलमा सङ्कलन भएको चार लाख १७ हजार ९२३ जापानी येन आइतवारै परिवारलाई हस्तान्तरण गरिएको थियो ।
त्यस्तै खिलकुमारीलाई चिन्ने आफन्तबाट एक लाख २० हजार जापानी येन सङ्कलन भएको ढकाल परिवारले जानकारी दिएको छ ।
साइतामाकै खावागोय क्षेत्रमा सँगै काम गरेका नेपाली तथा जापानी र चिनियाँ साथीले समेत सहयोगका लागि रकम सङ्कलन अभियान चलाएको सुमित्रा खत्रीले जानकारी दिनुभयो । खावागोय क्षेत्रका दुई कम्पनीमा ढकालले हप्तामा दुई÷दुई दिन काम गर्दै आएकी थिइन् ।
यता, निशीउरावामा रहेका नेपाली तथा चिनियाँ सहयोगीले समेत सहयोगका लागि अभियान चलाएको बताएका छन् । कामबाट फर्कने क्रममा मुटु दुख्यो भनेकी उनको एक्कासि बोली बन्द भएपछि ओमिया अस्पताल लगिएको र त्यहीँ शुक्रबार बिहान ४ः४५ मा मृत्यु भएको थियो ।
आइतबार टोकियोको इतावासी शवगृहमा दाहासंस्कारपछि मृतकको अस्तु लिएर ढकाल परिवार काजकिरियाका गर्न सोमबार बिहानै नेपाल हिँडेको श्रीमान् खेमराज ढकालले बताउनुभयो ।
मृतक ढकाल श्रीमान् खेमराज र १९ वर्षीय छोरा तथा १७ वर्षीया छोरीसँगै टोकियोको जुजोमा बस्दै आएका थिए । रासस
No comments:
Post a Comment