Sunday, March 20, 2016

सेवाग्राहीलाई घर आँगनबाटै सुविधा

चौतारा, ७ चैत । सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्रका भूकम्पपीडित जनताले घर आँगनबाट विभिन्न सरकारी सेवा प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्लास्थित सबै कार्यालय सम्मिलित दुईदिने एकीकृत घुम्ती शिविर सञ्चालन भएको थियो । दुई दिनको बाटो आवतजावत गरेर सदरमुकामबाट सेवा प्राप्त गर्न कठिनाइ भएको महसुस गर्दै थाङ्पालधाप, गुन्सा, भोटेनाम्लाङ, भोताङ र थाङपालकोट सहित पाँच गाविसका बासिन्दालाई सुविधा पुग्ने गरी शिविरको आयोजना गरिएको प्रजिअ गोकर्णमणि दुवाडीले बताउनुभयो ।

शिविरमा थाङ्पालकोट गाविसकी ८६ वर्षीया दावावुटी लामासहित ४२८ जनालाई नागरिकताको प्रमाणपत्र वितरण तथा नेपाली सेनाको गोरखबहादुर गण र जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा ४०६ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो ।

त्यस्तै जिल्ला आयुर्वेद केन्द्रबाट ३४७ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो । महिला विकास कार्यालयबाट ९८ ज्येष्ठ नागरिक र ७५ विकलाङ्गलाई परिचयपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा जिल्ला निर्वाचन कार्यालयबाट ४९७ जनाको तस्बिर सहितको मतदाता नामावली, ५०२ कृषकलाई बीउबिजन वितरण, ४५ जनालाई नापीसम्बन्धी र ६३७ जनालाई जिल्ला प्रहरी कार्यालयले परामर्श दिएको थियो ।

त्यस्तै जिल्ला घरेलु तथा साना उद्योग विकास समितिबाट १३ पसल र चार होटेल तथा मिल दर्ता, एक उद्योग नवीकरण र २५ उद्योगलाई परामर्श प्रदान गरी विभिन्न उद्योगबाट रु ६७ हजार ३०० राजस्व असुली गरिएको छ ।

थाङपाल्कोट गाविसको रैथानमा केन्द्र कायम गरी आयोजित शिविरमा जिल्ला शिक्षा कार्यालयबाट छ विद्यालयलाई शैक्षिक सामग्री वितरणका साथै चार विद्यालयको अनुगमन गरिएको थियो । मालपोत कार्यालयबाट १२५ जनाको तस्बिर टाँससहितको जग्गाधनी पुर्जा, एक जनाको नामसारी तथा सनाखत र ३०० जनालाई सूचनामूलक सामग्री वितरण गरिएको थियो ।

त्यसैगरी पशुसेवा कार्यालयबाट ३५८ कृषकका एक हजार ८१२ पशुलाई निःशुल्क औषधि तथा १०० केजी घाँसका बीउ वितरण गरिनाका साथै जिल्ला हुलाक सेवा कार्यालयबाट ५५० थान हुलाक टिकट बिक्री वितरण गरिएको टोलीमा सहभागी स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts