Saturday, March 12, 2016

दृष्टिविहीनद्वारा सहयोगको याचना

पथरी (मोरङ), २९ फागुन । मोरङका उर्लाबारी–२ का राजकुमार राई र इन्दिरा राई दम्पती हुन् । उहाँहरु दुवै दृष्टिविहीन हुनुहुन्छ ।

दृष्टिविहीन भएपनि उहाँहरु मुढा बनाएर जिन्दगी गुजारा गरिरहनुभएको छ । प्लान नेपालले सुनसरीले दिएको तालिममा उहाँहरुले मुढा बुन्न सिक्नुभएको हो । यी दम्पती जन्मजात दृष्टिविहीन भने होइन । बालबालिकामा धर्ती देखेका उहाँहरुको बिस्तारै आँखाको ज्योति गुम्न पुग्यो । राजकुमारका बुबा छैनन् । आमा भने हुनुहुन्छ । बेलाबखत दाजुभाइ तथा आमा हेर्न आउने गरेको राजकुमारले सुनाउनुहुन्छ ।

उहाँहरुले आँखाको सानैमा उपचार गराए तर उपचार सम्भव भएन । ठूला अस्पतालले आफूहरुको उपचार गराइदिए संसार देख्न मन भएको उहाँहरु सुनाउनुहुन्छ । आफ्नो बालबच्चा हेर्ने धोको छ यो दम्पतीलाई । अनि मन छ, श्रीमान् र श्रीमतीले एकआपसको मुहार हेर्ने । अहिले ७ वर्षीया छोरी इनिस्ताले उहाँहरुको रेखदेख गर्दै आउनुभएको छ । विद्यालयबाट छुट्टी भई आएपछि छोरीले काम सघाउने गरेको र बिरामी हुँदा अस्पताल लाने गरेको आमा इन्दिराले सुनाउनुभयो ।

उहाँहरुलाई राज्यले नीलो कार्ड दिएको छ । मासिक रुपमा तीन÷तीन सय रुपैयाँ पाउनुहुन्छ । राजकुमार भन्नुहुन्छ, “रातो कार्ड पाएका छैनाँै । हामीभन्दा सबलाङ्गले पाएका सुनिन्छ । जहाँ पनि राजनीति छ हजुर । हाम्रो लागि को लागि पर्ने र ?”

सानो छाप्रोमा दुःखदायी जीवन व्यतित गर्दै आउनुभएका उहाँहरुले अहिले दाताको सहयोगमा घर निर्माण गर्दै हुनुहुन्छ । उहाँहरुलाई आर्थिक सहयोगको खाँचो छ । उहाँहरुले आफ्नो घर निर्माणमा र छोरीको भबिष्यका लागि दातासमक्ष सहयोगको याचाना गरिरहनु भएको छ । राई दम्पती भन्छन्, “मन हुनेले सम्झिदिनुहोला ।” ठूली भएर छोरीलाई डाक्टर बनाउने धोको छ उहाँहरुको । राजकुमार भन्नुहुन्छ, “आँखाको डाक्टर बनाउने धोको छ । छोरीले दृष्टिविहीनको ज्योति फर्काउन सकून् ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts