बनेपा, १८ फागुन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकारका लागि वर्तमान सरकार नढल्ने बताउनुभएको छ ।
सहमतिका लागि यो सरकार तुरुन्तै ढाल्ने र अर्को सरकार बनाउने भन्न खोजिएको होइन, काभ्रेपलाञ्चोकको काशीखण्ड नगरपालिकाको भकुण्डेमा आज एमाओवादी, काभ्रेपलाञ्चोकले आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षणमा उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले नेपाली काँग्रेस र मधेसी दललाई पनि सरकारमा समावेश गरेर वर्तमान सरकारलाई नै राष्ट्रियस्वरुप दिए त्यसले संविधान कार्यान्वयनमा सजिलो हुने उल्लेख गर्दै त्यस्तो सरकारले पुनःनिर्माणलगायतका धेरै काम गर्नसक्छ भन्ने धारणा भएको बताउनुभयो ।
उहाँले सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीले जनताको पक्षमा काम नगरे दुई महिनाभित्र गम्भीर निर्णय लिइनेछ, भन्नुभयो ।
अध्यक्ष दाहालले आगामी प्रदेश र स्थानीय निकायको चुनावका लागि तालमेलको नीति अख्तियार गरिने उल्लेख गर्दै सकेसम्म नेकपा (एमाले) सँग तालमेलको नीति हुने बताउनुभयो । एमालेसँग चुनावी तालमेल नभए जुनसुकै पार्टीसँग पनि चुनावी तालमेल गर्न सकिन्छ उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउन छरिएर रहेका माओवादीबीच एकता हुने विश्वास दिलाउँदै हामी अब केही दिनभित्रै एकताको टुङ्गो लगाउँछौँ भन्नुभयो । वैद्यजी, मातृकाजी, मणिजी र विप्लवजीसमेत निःस्वार्थ एकताको पक्षमा हुनुहुन्छ त्यसैले अब धेरै समय नलाग्ने उहाँको भनाइ थियो ।
एमाओवादीका पोलिटब्युरो सदस्य लीलामणि पोखरेलले पार्टीलाई पुनःनिर्माण गर्न तीन महिने कार्ययोजना अघि सारेको जानकारी दिँदै बाबुरामजीले कहिल्यै पनि पार्टीमा आफ्नो विचारलाई एजेन्डाका रुपमा ल्याउनु भएन, भन्नुभयो ।
प्रशिक्षणमा एमाओवादी काभ्रेपलाञ्चोकका अध्यक्ष दिनानाथ गौतमले जिल्लामा पार्टीको अवस्थाबारे कार्यकर्तालाई जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment