काठमाडौँ, २३ फागुन । १०६औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा माइती नेपालले तीन महिला खेलाडीलाई सम्मान गरेको छ ।
माइती नेपालले आज यहाँ एक कार्यक्रमको आयोजना गरी खेल क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने खेलाडी सङ्गीना वैद्य, तुलसा सिंह र देवु थापा(महर्जन) लाई सम्मान गरेको हो ।
प्रशिक्षकका रुपमा १२औँ दक्षिण एसियाली खेलमा नेपाललाई रजत र कास्य पदक दिलाउन सफल हुनुभएकामा वैद्य र थापालाई तथा महिला फुटबलतर्फ नेपाललाई रजत पदक दिलाउन सफल व्यवस्थापकको भूमिका खेल्नुभएकामा सिंहलाई सम्मान गरिएको थियो ।
उहाँहरुलाई सम्मान गर्दै नागरिक समाजका अगुवा दमननाथ ढुङ्गानाले खेलाडीलाई राष्ट्रले केही दिन नसकेका अवस्थामा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नसक्नु उनीहरुको आत्मबलका कारण हो भन्नुभयो ।
उहाँले राजनीतिक परिवर्तन मात्र भएर केही नहुने त्यसका लागि आर्थिक विकास हुनुपर्नेमा जोड दिँदै आर्थिक विकासका लागि राष्ट्रिय सहमति गर्न दललाई आग्रहसमेत गर्नुभयो ।
माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले महिला सशक्तीकरण आफ्नै घरबाट सुरु गर्नुपर्ने बताउँदै त्यसका लागि छोरीलाई आजैदेखि शिक्षा दिनेतर्फ सबै अभिभावकको ध्यान जानुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment