विराटनगर, २२ फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको संविधानमा सबै वर्ग र समुदायको भावना समेटिएको बताउनुभएको छ ।
नेकपा (एमाले) पूर्वाञ्चल समितिद्वारा आज विराटनगरको सहिद मैदानमा आयोजित सो पार्टीको तीन महिने तराई–मधेस अभियानको समापनका अवसरमा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
वरिष्ठ नेता खनालले संविधान निर्माणको काम सम्पन्न भइसकेकाले अब देशको समृद्धि र विकास निर्माणमा एकजुट भएर लाग्न आह्वान गर्नुभयो ।
उहाँले एमाले पार्टीको पूर्वाञ्चल क्षेत्र उर्बर भूमि रहेको चर्चा गर्दै पार्टी अझ बलियो र गतिशील बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
सो पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसमा संविधानको विषयमा भ्रम फैलाएर मधेसी जनतालाई दिग्भ्रमितमा पार्न खोजिएको बताउनुभयो ।
उहाँले यस संविधानमा मधेसी, दलित, महिला, जनजाति, मुस्लिमका लागि संवैधानिक आयोगका साथै आरक्षणको समेत व्यवस्था गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले मधेसवादी दलले अनाहकमा जनतालाई अन्योलमा पारेको धारणा प्रकट गर्नुभयो ।
उहाँले स्थानीय निकायको निर्वाचन आउँदो वैशाखसम्ममा गर्नका लागि मञ्चमा बस्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउनुभयो ।
महासचिव ईश्वर पोखरेलले मुलुकको निर्माणमा धोती र टोपीको बराबर योगदान रहेको चर्चा गर्दै सामाजिक सद्भाव बिथोल्न नदिन एमाले पार्टी दृढ रहेको बताउनुभयो । स्थायी समितिका सदस्य एवम् युवा खेलकुदमन्त्री सत्यनारायण मण्डलले मधेस आन्दोलनका कारण मधेसका जनता मारमा परेको बताउनुभयो ।
उहाँले मधेसवादी दलले मधेसका सुकुम्बासी, दलित जनताको हितमा कहिले नबोलेको र सत्ताको राजनीति गरेको धारणा प्रकट गर्नुभयो ।
सो अवसरमा पार्टीका सचिव योगेश भट्टराई, स्थायी समितिका सदस्य सुवास नेम्बाङ, लालबाबु पण्डित र कोसी अञ्चल इन्चार्ज जीवन घिमिरेलगायतले बोल्नुभएको थियो । रासस
No comments:
Post a Comment