काठमाडौँ, २५ फागुन । कर्मचारी जगतमा हुने विभेदकारी अवस्थालाई कम गर्न आम कर्मचारीको व्यवहारमा परिवर्तन हुनुपर्नेमा जोड दिइएको छ ।
आज यहाँ राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रको नवौँ वार्षिक साधारणसभामा उनीहरुले कर्मचारीमा तल्लो र माथिल्लो तहको विभेदकारी अवस्थालाई कम गर्न सरकारले पहल नगरेको गुनासो गरेका छन् ।
सामान्य मन्त्रालयका सचिव टङ्कमणि शर्माले जुनसुकै श्रेणीको कर्मचारीलाई तल्लो र माथिल्लो भनी गरिने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “सीप भन्ने कुरा सानो र ठूलो हुँदैन सबै कामको उत्तिकै महत्व छ हामीले सबै कामको सम्मान गर्ने बानी बसाल्नुपर्छ ।”
कर्मचारी मिलनका अध्यक्ष नरबहादुर थापाले सरकारले श्रेणीविहीन पदमा राज्यले निजामती सेवा ऐन नियमविपरीत स्थायी प्रक्रियाबाट पदपूर्ति गर्न छाडी करार प्रक्रियाबाट मात्र पदपूर्ति गर्दै आएको र प्रत्येक वर्ष म्याद थप गर्दै आएको १५ वर्ष बित्दा पनि राज्य मौन रहेको गुनासो गर्नुभयो ।
केन्द्रका संस्थापक अध्यक्ष कृष्ण भण्डारीले राज्यका उच्च कर्मचारीबाटै श्रेणीविहीन कर्मचारीलाई हेलाको दृष्टि राख्दा नै केन्द्रको जन्म भएको बताउनुभयो ।
उहाँले श्रेणीविहीनका कुरा सरकारले नसुनेकाले वर्गीय विभेद हट्न नसकेको उल्लेख गर्नुभयो । केन्द्रका झापा जिल्ला अध्यक्ष भीम चेमजोङ अस्थायी करार ज्यालादारीलाई स्थायी कर्मचारीबाट सौतेनी व्यवहार भएको भन्दै अस्थायी कर्मचारीलाई पनि स्थायीसरह सेवासुविधा हुनुपर्ने माग राख्नुभयो । रासस
No comments:
Post a Comment