नेपालगन्ज, २४ फागुन । धार्मिक तथा सामाजिक सद्भाव बनाउन यहाँका धार्मिक गुरुहरुले थालेका प्रयासलाई सराहना गरिएको छ ।
हिन्दू धर्मगुरु महन्त चन्द्रनाथ योगीको अध्यक्षतामा इसाई धर्मगुरु बेन्जामिन श्रेष्ठ, बौद्ध धर्मगुरु गुन्जबहादुर लामा, सिख धर्मगुरु राजेन्द्र सिंह सरदार र इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी सदस्य रहेको ‘अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्च’को भूमिका अहिले सर्वत्र प्रशंसाको विषय बनेको छ ।
धार्मिक तथा जातीय संवेदनशीलतामा जोखिमपूर्ण मानिएको बाँके जिल्लामा धर्मगुरुले सामाजिक र धार्मिक सद्भाव कायम गर्न खेलेको भूमिकालाई यहाँको सुरक्षा निकायले उच्च मूल्याँकन गरेको छ ।
“धार्मिक गुरुको सामूहिक एकताले हामीलाई शान्तिसुरक्षा कायम गर्न र सामाजिक सद्भाव कायम गर्न ठूलो हौसला र बल मिलेको छ र यसमा सुरक्षा निकाय क्रमशः सफलसमेत हुँदै गएको छ,” मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालले भन्नुभयो ।
नौ वर्षअघि नेपालगन्जमा धार्मिक तथा जातीय विग्रह देखिएपछि त्यसको निराकरणका लागि गठन गरिएको मञ्चले जिल्लाका गाउँगाउँमा आप्mनो धार्मिक तथा सामाजिक कार्यलाई विस्तार गर्दै लगेको पाइन्छ । धार्मिक गुरुले एउटै मञ्चबाट धार्मिक तथा सामाजिक सद्भावको सन्देश प्रवाह गर्दा र आपसमा अङ्कमाल गरी मानवीय धर्म नै सबैभन्दा ठूलो धर्म भनी प्रवचन दिँदा यहाँका नागरिकको आत्मामा त्यसको छाप बसेको देखिएको छ ।
“हामीले आप्mनो धर्मलाई माया र अरूको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने भावना जागृत भएको छ, द्वेष र ईष्र्याले हैन सद्भावबाट मात्र शान्ति र अमनचैन प्राप्त गर्न सकिँदो रहेछ, यही नै नागरिकले सिकेको कुरा हो” – बाँके कम्दी गाविसका झगरु यादवले भन्नुभयो । अहिले समग्रमा बाँके जिल्ला शान्त छ । यहाँ धार्मिक तथा सामाजिक सद्भाव कायम छ । स–साना धार्मिक विवादको सम्भावना देख्ने बित्तिकै धार्मिक गुरुको सामूहिक प्रयत्नवाट त्यसलाई सहमतिमा ल्याउने गरिएको छ ।
धार्मिक गुरुको प्रयास आफूहरुलाई सुरक्षा व्यवस्था कायम गर्न मार्ग निर्देशन बनेको बताउँदै प्रहरी नायब महानिरीक्षक नेपालले भन्नुभयो – “प्रहरी त शान्तिसुरक्षाका लागि माध्यम मात्र हो । निमित्त नायक त धार्मिक गुरु बन्नुभएको छ ।” धार्मिक गुरुको यही प्रशंसनीय कामका लागि क्षेत्रीय प्रहरी कार्यालयले धार्मिक गुरुलाई आज यहाँ आयोजित कार्यक्रममा सम्मानसमेत गरेको छ ।
“हाम्रो धार्मिक एकता टुट्दैन, हामी सधैँ एउटै मञ्चबाट धार्मिक तथा सामाजिक सद्भाव प्रवाह गर्ने काममा लागिरहने छाँै”, धार्मिक गुरुहरुले कार्यक्रममा यसरी प्रतिबद्धता व्यक्त गरे । रासस
No comments:
Post a Comment