चितवन, २४ फागुन । चितवन राष्ट्रिय निकुञ्ज अर्ना र बाह्रसिङ्गेको बासस्थानका लागि उपयुक्त थलो हुन सक्ने भन्दै ती जनावर ल्याउन अध्ययन र तयारी सुरु गरिएको छ ।
हाल कोसी टप्पु वन्यजन्तु आरक्षमा अर्ना, शुक्लाफाँटा वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गे रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा यी जनावर राख्न उपयुक्त हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना र शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट बाह्रसिङ्गे ल्याउन निकुञ्जले गृहकार्य थालेको छ ।
सम्भावना अध्ययनकै क्रममा कोसीटप्पु वन्यजन्तु आरक्षमा पुग्नुभएका कँडेलले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्ज यी दुई जनावरका लागि उपयुक्त थलो हुन सक्छ ।”
यी आरक्ष र चितवन राष्ट्रिय निकुञ्ज दुबै तराईमा रहेको उपोष्ण हावापानी भएको, आहाल र प्रशस्त पानीको सम्भावना रहेको, झाडी बुट्यान र खुल्ला जङ्गल एवम् घाँसेमैदान भएकाले पनि अर्ना र बाह्रसिङ्गेका लागि चितवन उपयुक्त भएको उहाँको तर्क छ । जनावरको विविधीकरणका साथै बाघको सङ्ख्या बढ्दै गएकाले सिकार क्षेत्र बढाउन पनि यी जनावर चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्नु राम्रो हुने उहाँले बताउनुभयो । कोसीमा सफा पानी भएको कोसी नदी छ भने चितवन राष्ट्रिय निकुञ्ज हुँदै सफा पानी बग्ने राप्ती नदी छ जुन अर्ना र बाह्रसिङ्गे दुबैका लागि उपयुक्त छ ।
अर्ना बथानमा बस्ने हुँदा शत्रुबाट सुजिलै बच्न सक्छन् । बाह्रसिङ्गे पनि बथानमै बस्ने जनावर हो । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ती जनावरको बासस्थानका लागि व्यवस्थापन कार्य पनि थालिएको छ । पुराना पोखरीको मर्मतसम्भार सुरु भएको छ भने घाँसेमैदान विस्तार गर्ने र व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । हाल नेपालमा कोसी टप्प वन्यजन्तु आरक्षमा सन् २०१३ को गणनाअनुसार ३२६ वटा अर्ना रहेका छन् । यस वर्ष पुनः गणना हुँदैछ । बाह्रसिङ्गे शुक्लाफाँटामा दुई हजार २०० र बर्दिया राष्ट्रिय निकुञ्जमा १०० को हाराहारीमा रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, हात्ती, जरायो, चित्त, लघुना, गौरीगाई, बँदेल, नीलगाईजस्ता जनावरका साथै २६५ प्रजातिका चरा, ६४ प्रजातिका स्तनधारी, एक सयभन्दा बढी प्रजातिका घस्रने र उभयचर पाइन्छन् । बाह्रसिङ्गे र अर्नाको चितवन राष्ट्रिय निकुञ्जमा विस्तार गर्न सकिएमा यहाँको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो । निकुञ्ज विभागले सम्भावना रहेका स्थलमा सो क्षेत्रमा नरहेका जनावरको स्थानान्तरण गर्न निकुञ्जहरुलाई उत्प्रेरित गर्दै आएको छ । कोसी टप्पु वन्यजन्तु आरक्ष एकसिङ्गे गैँडाका लागि उपयुक्त थलो भएको भन्दै सो आरक्षमा पनि एकसिङ्गे गैँडा स्थानान्तरणको अध्ययन थालिएको छ । रासस
No comments:
Post a Comment