Monday, March 7, 2016

मोबाइल चलाउनकै लागि ५५ वर्षमा विद्याध्ययन

काँकडभिट्टा (झापा), २४ फागुन । झापा ज्यामिरगढी–२ की पञ्चमाया बराइलीलाई यतिबेला बिहानको समयमा नातिनातिनालाई विद्यालय पठाएर आफू पनि विद्यालय जान हतारो हुन्छ ।

उमेरले ५५ वर्ष पुगिसकेकी छिन् उनी । तर उनी ज्यामिरगढीस्थित कालिका प्राथमिक विद्यालय कक्षा १ की विद्यार्थी हुन् । ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने उखान झैँ उनी यतिबेला ४ देखि ७ वर्षका नातिनातिना उमेरका नानीहरुसँगै १० देखि ४ बजेसम्म कक्षामा उपस्थित भएर अध्ययन गरिरहेकी छिन् ।

यसरी यो उमेरमा पढ्नुका कारण हो मोबाइलमा अक्षर चिन्न नसक्नु । उनका ३६ र २६ वर्षका दुई छोरा छन् । जेठो तेस्रो मुलुकमा र माइलो छोरा भारतमा रोजगारीका लागि गएका छन् । माइली बुहारी भारतमै छिन् । जेठी बुहारी र नातिनातिनासँग बस्दै आएकी उनलाई छोराले पठाइदिएको मोबाइल चलाउन गाह्रो भएछ । उनी भन्छिन््, “धेरैलाई सिकाइ मागे तर कसैले सिकाइदिएनन् । उनले कैयौँ दिन अरूलाई नम्बर डायल गरी मागिन् । अक्षर नचिनेकै कारण कठिनाइ भोग्नु परेपछि उनलाई पढ्ने रहर जाग्यो ।”

आफ्नै घरमा सिकुवामा बसेर पढ्न थालेको देख्नेले उनलाई घरै अगाडिको विद्यालयमा जान सुझाए । “बूढेसकालमा नातिनातिना उमेरकासँग कसरी पढ्न जानु भनेर सुरुमा लाज लाग्यो,” उनले पढ्न जाने बेलाको बेलिविस्तार लगाउँदै भनिन् – “जसरी पनि अक्षर नचिनी भएकै छैन भन्ने सोचेर लुरुलुरु स्कूल जान थालेँ ।”

विद्यालय जान थालेपछि उनको दिनचर्या फेरिएको छ । उनी बिहान चाँडै उठ्छिन् । पूजापाठ गरेर घरधन्दा र नातिनातिनीलाई विद्यालय पठाउने काम सकेर उनी किताब च्यापेर विद्यालय जाने गर्छिन् । उनका नातिहरू चाहिँ बोर्डिङ स्कूल पढ्छन् । बाइस वर्षसम्म वैभव चिया बगानमा मजदुरी गरेकी पञ्चमायाले यसै वर्ष मात्र उमेरका कारण अवकाश लिएकी हुन् । बाल्यकालमा विद्यालय जान नपाएकी उनको १६ वर्षको उमेरमा हस्तबहादुर बराइलीसँग विवाह भएको थियो । प्रौढ शिक्षासम्म पढ्न नपाएकी उनी विद्यालय जान थालेपछि मनग्य नेपाली अक्षर चिन्ने भएकी छिन् ।

बिहान १० बजे विद्यालय गएकी उनी ४ बजे छुट्टीमा एकैचोटि घर फर्कन्छन् । उनलाई विद्यार्थीले ‘हजुरआमा’ नै भनेर बोलाउने गर्छन् । उनी पनि धेरैलाई नातिनातिनी नै भन्ने गर्छिन् । यसो त उनी आफूले नजानेका पढाइका कुरा तिनै बालबालिकालाई सोध्ने गर्छिन् । “सानो भएर हुँदैन,” कक्षामा पढ्दै गरेकी उनले भनिन् – “राम्ररी सिकाइदिन्छन् ।” यसो त उनी घरमा पनि फुर्सद निकालेर गृहकार्य र पढ्ने काम गर्दै आएकी छिन् । “मर्ने बेलामा यो बूढीले के गरेको होला भन्नेहरू पनि थुप्रै थिए,” पञ्चमाया पढेर विस्तारै अक्षर चिन्न थालेकामा प्रशन्न हुँदै भन्छिन् – “तर निरन्तर पढ्दै गएपछि अहिले हौसला दिने धेरै छन् ।”

बूढेसकालमा पनि विद्यार्थी बन्न आइपुगेकी पञ्चमायाको उत्साह देखेर शिक्षक रीता प्याकुरेल खुसी व्यक्त गर्छिन् । “सुरुमा त मलाई पनि उहाँलाई पढाउन निकै अप्ठेरो भएको थियो,” शिक्षक प्याकुरेलले भनिन् – “उमेरले आमा समानको मान्छेलाई कसरी पढाउने, कराउन पनि नमिल्ने ।” तर पञ्चमायाले सोचेभन्दा छिटो अक्षर लेख्न र पढ्न सिकेको प्याकुरेल बताउँछिन् । छोटो समयमा पनि धेरै जान्ने भएकी उनी अब त मोबाइल आफैँ चलाउन सक्ने भइसकेकी छन् ।

उनले प्रधानाध्यापकलाई ठूलो सर, कुनै सरलाई मोटो, कसैलाई दुब्लो, कसैलाई गोरे भनेर चिन्ने गरेकी छन् । उनी आफ्नो मोबाइल विद्यालयमा आफूसँगै लिएर जान्छिन् । झोलामा मोबाइल हाल्छिन् र छोराहरूको फोन आयो भने शिक्षकलाई सोधेर बाहिर गएर मनलाग्दी कुराकानी गर्छिन् । उनी राष्ट्रिय गीत पनि उनी पूरै गाउन सक्ने भएकी छिन् । आफ्नो नाम नेपाली र अङ्ग्रेजी दुबैमा लेख्छिन् ।

सधैँ घरमा पढेको देखेर आफूहरुले पनि पढ्नलाई विद्यालय आउनुहोस् भनेर हौसला दिएको प्रधानाध्यापक भक्तराज खड्काले बताउनुभयो । “हामी उत्साहित भएका छौँ,” प्रधानाध्यापक खड्काले भने – “उहाँ यो उमेरमा त विद्यालय आउनुभएको छ । पढाइलाई उमेरले छेक्दैन भन्ने कुरा अरूले उहाँबाट सिक्नुपर्छ ।” उनको उत्साहलाई प्रशंसा गर्नुपर्ने काँकडभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहालले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts