वीरगन्ज, १९ चैत । पशुपक्षीबाट मानिसमा सर्न सक्ने जुनोटिक रोगको सङ्क्रमण रोक्नका लागि उच्च सतर्कता अपनाउन पशु चिकित्सिक, वैज्ञानिक तथा प्राविधिकले सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
“स्वस्थ्यकर मासु खाऔँ, जीवन बचाऔँ” भन्ने मूल नारासहित सुरु गरिएको सप्ताहव्यापी स्वच्छ तथा स्वस्थ्य मासु अभियानअन्तर्गत जिल्ला पशु सेवा कार्यालय पर्साद्वारा आज यहा“ आयोजित जुनेटिक रोगसम्बन्धी सरोकारवालासँगको छलफलमा उनीहरूले सो आग्रह गरेका हुन् ।
सप्ताहव्यापी स्वच्छ तथा स्वस्थ्य मासु अभियान कार्यक्रम जिल्लामा चैत १४ देखि २० गतेसम्म सञ्चालनमा रहेको छ । अभियानअन्तर्गत स्वस्थ्यकर मासु खाऔँ, जीवन बचाऔँसम्बन्धी जनचेतनामूलक कार्यक्रम, प्रभातफेरी, मासु व्यवसायी, उपभोक्ता र सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग अन्तक्र्रियालगायतका कार्यक्रम सञ्चालन गरिएको जिल्ला पशु सेवा कार्यालय पर्साले जनाएको छ ।
सो अवसरमा जिल्ला पशु सेवा कार्यालय पर्साका प्रमुख वरिष्ठ पशु चिकित्सिक डा रामपरीक्षण साहले पशुपक्षीबाट मानिसमा सर्न सक्ने यो रोग भित्रिएमा यसलाई नियन्त्रण गर्न अत्यन्त गाह्रो हुने र यसले ठूलो जनधनको क्षति पु¥याउन सक्ने भएकाले यसप्रति बेलामै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
“हामीले विशेष सावधानी सुरु गरेका छौँ” – उहा“ले भन्नुभयो –“यो रोग भित्रिन नदिनका लागि जोखिमयुक्त सम्भावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको र अनुगमन कार्यलाई पनि अत्यन्त प्रभावकारी बनाइएको छ ।”
प्रमुख डा साहले पशुपक्षीमा यो रोगको लक्षण देखिनेबित्तिकै पशु चिकित्सक वा प्राविधिकसँग तत्काल सम्पर्क गर्न सम्बन्धित सबैमा आग्रह पनि गर्नुभयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले यो रोग भित्रिन नदिन पशुमा खोप, पशु कृषकलाई तालिम, प्रशिक्षण र अन्य सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्दछ भन्दै रोग भित्रिन नदिनस्थानीय प्रशासनतर्फ चाहिने सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।
पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा यो रोग भित्रिन नदिन, कुनै कारणवश भित्रिएमा यसबाट बच्ने उपाय र नियन्त्रणका लागि आवश्यक सम्पूर्ण पूर्वतयारी हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
छलफलमा जुनोटिक रोग जस्तै एन्थ्राक्स, रेबिज, ब्रुसेलोसिस, तुहिने रोग, छारे रोग, टाइफाइड ज्वरो, हाइड्रोफेविया, बर्डफ्लु, फित्ते किरालगायतका रोग र स्वस्थ्य मासुको उपयोगबारे पनि जानकारी गराइएको थियो । रासस
No comments:
Post a Comment