Monday, April 4, 2016

खानेपानी विषयमा दुई गाउँबीच विवाद

मुस्ताङ, २३ चैत । हिमाली जिल्ला मुस्ताङको चराङ गाविसमा खानेपानीको मुहानका विषयमा दुई गाउँबीच विवाद उत्पन्न भएको छ ।

यस वर्ष पर्याप्त हिउँ नपरेपछि मुस्ताङका अधिकांश गाउँमा खानेपानीको चरम अभाव छ । मराङ र चराङ गाउँको बीचमा रहेको खानेपानीको मुहानलाई दुवै गाउँलेले दाबी गरेपछि विवाद उत्पन्न भएको हो । दुई गाउँमा करिब ६० घरधुरी बसोबास छ । विवाद गाउँमा साम्य नभएपछि दुवै गाउँका सर्वसाधारण सदरमुकाम जोमसोम आइपुगेका छन् ।

आलोपालो प्रणालीमा पानी प्रयोग गर्दैै आएका दुई गाउँलेले निर्माण गरेको कुलो केही व्यक्तिले भत्काइ दिएपछि आरोप–प्रत्यारोप लगाउने काम मात्र भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । “विवाद गाउँ तहमा मिल्न नसकेर जिल्ला आएको मात्र हो, त्योभन्दा अरु अप्रिय घटना केही भएको छैन”, उहाँले भन्नुभयो ।

जिल्लामा खानेपानीका मुहान सुक्दै जान थालेपछि बेलाबेलामा त्यस्ता घटना बाहिर आउने गरेको जिल्ला प्रशासनले जनाएको छ । प्रशासनको रोहवरमा दुवै गाउँबीच आलोपालो प्रणालीमा नै पानी प्रयोग गर्ने र थप खानेपानीका योजना निर्माण गर्न जिल्ला विकास समितिलाई आग्रह गर्ने निर्णय भएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

चराङसँगै छोसेर, कागबेनी र तल्लो क्षेत्रको लेते, कोबाङलगायतका गाविसमा खानेपानीको चरम समस्या रहेको स्थानीयवासीले जानकारी दिएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts