काठमाडौँ, ३ वैशाख । स्वास्थ्यमन्त्री रामजनम चौधरीले पछिल्लो समयमा मधुमेह तथा थाइराइड गडबडीको समस्या भयावह बन्दै गएकाले नियन्त्रणका लागि जनचेतनाको खाँचो रहेको बताउनुभएको छ ।
आज अल्का अस्पताल प्रालिले मधुमेह तथा थाइराइडका बिरामीलाई व्यवस्थित रुपमा विशेष उपचार सेवा प्रदान गर्न स्थापना गरेको काठमाडौँ डाइबिटिज एन्ड थाइराइड सेन्टर प्रालिको उद्घाटन गर्दै मन्त्री चौधरीले पछिल्लो समयमा नसर्ने रोगको जोखिम बढ्दै गएको र त्यसको उपचारमा अर्बौ रुपैयाँ खर्च भइरहेको बताउनुभयो ।
सेन्टरका अध्यक्ष समेत रहेका अल्का अस्पतालका अध्यक्ष कुमार थापाले मधुमेह तथा थाइराइड रोगको विश्वस्तरीय सेवा प्रदान गर्न छुट्टै केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो ।
उहाँको दाबी अनुसार अब मधुमेह र थाइराइड रोगको उपचारका लागि कोही पनि विदेश जान पर्दैन ।
सेन्टरका निर्देशक एवम् मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा अंशुमाला जोशीले सेन्टरले उपचार र रोकथामका लागि काम गर्ने जानकारी दिनुभयो ।
अल्का अस्पतालको भगिनी संस्थाको रुपमा स्थापित सो सेन्टर अस्पताल परिसरमै छ । रासस
No comments:
Post a Comment