काठमाडौँ, ७ वैशाख । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा उच्चस्तरीय हस्ताक्षर समारोहमा भाग लिन आज अमेरिकाको न्युयोर्क तर्फ प्रस्थान गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा यही शुक्रबार(२२ अप्रिल)मा संयुक्त राष्ट्रसङ्घका महासचिव वानकी मुनले सञ्चालन गर्न लाग्नुभएको ‘पेरिस सम्झौता’को उक्त समारोहमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
फ्रान्सको राजधानी पेरिसमा सन् १२ डिसेम्बर २०१५ मा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय रुपरेखा सम्मेलनले पेरिस सम्झौता ग्रहण गरेको थियो । उक्त समारोहमा उपप्रधान मन्त्री थापाले नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्नुका साथै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री थापाले बिहीबार(अप्रिल २१)मा ‘दिगो विकास लक्ष्य’सम्बन्धी छलफललाई सम्बोधन गर्नुहुनेछ । सो अवसरमा सयुक्त राष्ट्रसङ्घीय महासभाको ७०औँ बैठकका अध्यक्ष मोगेन्स लिक्केटोफसहित राष्ट्रसङ्घका उच्च अधिकारीसँग पनि उपप्रधानमन्त्री थापाले द्विपक्षीय बैठक गर्नुहुने कार्यक्रम रहेको छ ।
मन्त्री थापाले युनाइटेट स्टेट इस्टिच्युट अफ पिस इन वासिङ्टन डिसीमा यही वैशाख १३ गते गर्ने परिस्कृत समृद्धिका लागि नेपालमा शान्ति, स्थायित्व तथा प्रजातन्त्र र नेपाल–संयुक्तराज्य अमेरिका सहकार्य कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।
मन्त्री थापा यही वैशाख १७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस
No comments:
Post a Comment