काठमाडौँ, ७ वैशाख । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का महानिर्देशक इरिना बकोभाले भूकम्पबाट भत्केका मठ, मन्दिर र सम्पदाको मौलिकतालाई कायम राख्दै पुनर्निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी युनेस्कोको प्रधानकार्यालय पेरिस फर्कनुअघि आज साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वसम्पदा सूचीका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्दा तिनको मौलिकतामा कुनै किसिमको परिवर्तन गर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो– “नेपालका ती जीवन्त सम्पदालाई अमौलिक हुन नदिनेतर्फ विशेष ध्यान दिनुपर्छ । सम्पदाको पुनर्निर्माण वस्तुपरक ढङ्गले गर्नुपर्छ ।”
पुरातत्व विभाग र अन्तर्राष्ट्रिय विज्ञहरू कार्यक्षेत्रमा जुटेकाले नेपालका मौलिक सांस्कृतिक सम्पदा पुरानै रुपमा बन्नेमा आफू ढुक्क रहेको महानिर्देशक इरिनाले बताउनुभयो । पुनर्निर्माणका कामले गति लिएकामा खुसी व्यक्त गर्दै उहाँले तिनले भविष्यमा अझ द्रुतगति लिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
नेपालका सांस्कृतिक सम्पदा नेपालका लागि मात्र नभई विश्व समुदायका निम्ति पनि उत्तिकै महत्वपूर्ण छन् भन्दै उहाँले धार्मिक, सांस्कृतिक एवम् दिगो पर्यटन प्रवद्र्धनका लागि ती सम्पदाको संरक्षण र विकासमा युनेस्कोले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment