गाईघाट (उदयपुर), २३ चैत । उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस–२ स्थित रामपुर बजारमा निर्माण हुन गइरहेको महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड भवन निर्माणको लागि जापानी राजदूत मासासी ओगावाले रु एक करोड आर्थिक सहयोग गर्ने कुरा बताउनुभएको छ ।
राजदूत ओगावाले सोमबार उदयपुरको रामपुरमा महिला साना किसान कृषि सहकारी संस्थाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो धारणा राख्दै सो कुरा बताउनुभएको हो ।
यस क्षेत्रका महिला कृषि सहरकारी संस्थाले निर्माण गर्न लागेको आफ्नो कार्यालय भवनको लागि आफ्नोतर्फ र जापानी सरकारको तर्फबाट केही महिनाभित्र नै भवन निर्माणको लागि रु एक करोड आर्थिक सहयोग गर्ने बताउनुभएको संस्थाकी अध्यक्ष निर्मला बस्नेतले बताउनुभयो ।
जापानी राजदूतसँगै सो कार्यक्रममा विशेष अतिथिको रुपमा पूर्व सहरी विकासमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्का समेत रहनुभएको थियो ।
उदयपुर क्षेत्र नम्बर १ को सभासद् समेत रहनुभएको खड्काले सो भवन निर्माणको लागि आफूले आफ्नोतर्फबाट समेत भूमिका खेल्ने र दातालाई समेत आर्थिक सहयोग गर्न अनुरोध गर्ने धारणा राख्नुभएको थियो ।
रामपुर ठोक्सिलामा हाल महिला साना किसान कृषि सहरी संस्थाको अगुवाइमा स्थानीय महिलालाई बाख्रापालन, भैँसीपालन, मुढा बुन्ने, गाईवस्तु सम्बन्धित बिमा गर्ने सेवा प्रदान गर्दै आइरहेको संस्थाकी अध्यक्ष निर्मला बस्नेतले बताउनुभएको छ ।
गरिबी न्यूनीकरण गर्न र स्थानीय महिलाको स्वरोजगारको लागि उक्त संस्थाको भवन आवश्यक रहेकाकारण डा खड्काको पहलमा जापानी राजदूत उपस्थित गराएर आर्थिक सहयोग गराउन पहल भएको पनि संस्थाकी अध्यक्ष बस्नेतले बताउनुभयो ।
संस्थामा हाल ७०० महिला सदस्य आबद्ध रहँदै आएका छन् । राजधानी काठमाडौँबाट राजदूत ओगावा र डा खड्का सोमबारै उदयपुरको रामपुर आइपुग्नु भएको कार्यक्रमका संयोजक बस्नेतले बताउनुभयो ।
डा खड्का र राजदूतले जिल्लाको बेल्टार बजार क्षेत्रका सडक तथा विद्यालयको विकासको अवस्था र उदयपुर सिमेन्ट उद्योग जलजलेको समेत अनुगमन गरेर अवस्था बुझ्ने संयोजक बस्नेतले बताउनुभयो ।
उदयपुर सिमेन्ट उद्योग बन्द रहेको अवस्थाको बारेमा यसको सुधारको बारेमा जापानी राजदूतलाई जानकारी गराउँदै सहयोगको लागि अनुरोध गर्ने उदयपुर सिमेन्ट उद्योगका प्रबन्धक सुरेन्द्र पौडेलले बताउनुभयो । रासस
No comments:
Post a Comment