काठमाडौँ, १० वैशाख । काठमाडौँको तीनचुलेस्थित खेनछेन ठाङ्गु रिन्पोछेले करिब चार हजार भक्तजनलाई आज अभिषेक प्रदान गर्नुभएको छ ।
खेनछेन गुरुको नवौँ अवतारका रुपमा उहाँले संसारका सम्पूर्ण जीव जीवात्माप्रति करुणा तथा दयाको भावनाले दृष्टि पु¥याउने अवलोकितेश्वर तथा अमिताभको विधिविधानपूर्वक पूजा गर्दै त्यहाँ आएका भक्तजनलाई प्रवचनसमेत दिनुभयो ।
विशेषगरी बौद्ध परम्परामा हीनयान(थेरवाद), महायान र वज्रयान गरी तीन परम्परा छन् । तीमध्ये महायानी सम्प्रदायका धर्मावलम्बीले अवतारी गुरुबाट अभिषेक लिने कार्यलाई पुण्य सञ्चय गर्ने ठूलो अवसरका रुपमा लिने गर्छन् । अभिषेकलाई पवित्र तथा धर्म सञ्चयका माध्यम मानिन्छ ।
सो अवसरमा गुरु रिम्पोछेले मानव जीवन अति नै महत्वपूर्ण भएकाले सत्मार्गमा लागेर समाज सेवामा लाग्न आग्रह गर्नुभयो । उहाँले बौद्ध शिक्षाका ‘दुःख, अनित्य र अनात्म’ को दार्शनिक व्याख्या विश्लेषण गर्दा ठूलो सङ्ख्यामा सहभागी भएका भक्तजनले भावविह्ल भई केहीले त आँसुसमेत झारेका थिए ।
सो अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि भक्तजन ओइरिएका थिए । विदेशी पाहुनाले समेत गुरुबाट अभिषेक लिने अवसर प्राप्त गरेका थिए । अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न स्थानमा बौद्ध अध्ययन केन्द्र स्थापना गर्नुभएका ८५ वर्षीय गुरुले काभ्रे नमो बुद्धमा समेत गुम्बा स्थापना गर्नुभएको छ ।
उक्त संस्थाले २४ वर्षदेखि प्रत्येक वर्ष तिब्बती पात्रो अनुसार प्रत्येक तीन महिनाको १५ गते यस किसिमको पूजा गर्ने गरेको लामा गुरु पासाङवाङ्दी शेर्पाले जानकारी दिनुभयो ।
ठाङ्गु टासी छोलिङ्ग गुम्बाको आयोजनामा एक सातादेखि जारी उक्त कार्यक्रममा मानवकल्याण तथा विश्व शान्तिको कामना गर्दै १० करोड मन्त्र ‘मनि दुङ्ग्युर’ पनि जप गरियो ।
विभिन्न बौद्ध लामा गुरु, आनी तथा गृहस्थ लगायत भक्तजनको सहयोगमा ‘ओम माने पेमे हुँ’ नामक मन्त्र उच्चारण गरिएको थियो । उक्त मन्त्रको उच्चारणबाट प्राप्त हुने आवाजले सकारात्मक ऊर्जा दिने विश्वास गरिएको छ ।
गुरुले तिब्बती भाषामा दिएको प्रवचनलाई बौद्ध विद्वान् टीका शेर्पाले नेपाली भाषामा उल्था गर्नुभएको थियो । उक्त कार्यक्रममा शेर्पाले बौद्ध दर्शन दुःखीप्रति माया र सहयोगमा प्रयोग गर्न सुझाव दिनुभयो ।
गत वर्ष भूकम्पमा दिवङ्गत भएकाप्रति स्मरण गर्दै उनीहरुको आत्मशान्तिको समेत कामना गरिएको थियो । करिब १० हजार मृतकको मुक्तिका लागि शान्ति पाठ तथा पूजा गरिएको थियो । त्यसो गर्दा ती आत्मा विश्व ब्रह्माण्डमा नभड्किने विश्वास गरिएको छ । रासस
No comments:
Post a Comment