भक्तपुर, १४ वैशाख । ‘भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण’ योजनाबारे तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सम्पन्न भएको छ ।
ख्वपः इन्जिनियरिङ कलेजमा ख्वपः इन्जिनियरिङ कलेज र ख्वपः कलेज अफ इन्जिनियरिङले आयोजना गरेको सम्मेलन घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको हो ।
सम्मेलनमा नेपाल, चीन, डेनमार्क, इजिप्ट, इथियोपिया, जर्मनी, चेक रिपब्लिक, भारत, आयरल्यान्ड, इटाली, जापान, मेक्सिको, पोल्यान्ड, स्विजरल्यान्ड, अमेरिकासहितका १५ जना प्राध्यापक र भक्तपुर पुनःनिर्माण अध्ययन समितिले तयार गरेको सोधपत्रसहित ६२ वटा शोधपत्र प्रस्तुत गरिएको थियो । २४० जनाको सहभागिता रहेको सम्मेलनमा भूकम्पले पारेको प्रभाव एवम् पुनःनिर्माणमा भूकम्प प्रतिरोधी संरचना कसरी निर्माण गर्ने भन्ने व्यापक छलफल भएको थियो ।
नेमकिपाका सांसद एवम् कलेज सञ्चालक समितिका अध्यक्ष प्रेम सुवालले सहभागी १५ देशका प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गर्दै तीन दिनको अन्तर्राष्ट्रिय सम्मेलनबाट भूकम्पीय जोखिम न्यूनीकरण प्रविधि सहितका भवन निर्माणतर्फ घच्घच्याउन सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा प्रा डा सुदर्शनराज तिवारी, प्रा डा प्रेमनाथ मास्के, कोपनहेगन विश्वविद्यालय डेनमार्कका प्रा डा जोर्गान स्केमोसी, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत गणेश नेपाली, कलेजका प्राचार्य सुजन माक, सुनिल दुवाल, डा मञ्जिप शाक्य र लिवास फैजू लगायतले सम्मेलनले भूकम्पपीडितले भोगेको पीडा कम गर्दै पीडितको सुन्दर एवम् समृद्ध भविष्यका लागि उपयोगी मार्गदर्शन गरेको बताउनुभयो ।
सम्मेलनको समापनपश्चात् सहभागी विदेशी प्राध्यापक, अनुसन्धानकर्तालाई भूकम्पमा क्षतिग्रस्त भक्तपुरका सम्पदा, दरबार क्षेत्र, तौमढी, दत्तात्रय र भूकम्पले क्षतिग्रस्त जेंला र गोल्मढीको अवलोकन भ्रमण गराइएको थियो । रासस
No comments:
Post a Comment