काठमाडौँ, २६ चैत । भावी प्रधानन्यायाधीश चयनका विषयमा छलफल गर्न बसेको आजको संवैधानिक परिषद् बिनानिष्कर्ष टुङ्गिएको छ ।
नेपाली काँग्रेसको संसदीय दलको कार्यसम्पादन समितिको निर्वाचनका कारण सो दलका नवनिर्वाचित नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि परिषद् बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले अर्काे बैठक आउँदो आइतबार बस्ने जानकारी दिनुभयो । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठ आगामी वैशाख १ गतेबाट अवकाश पाउँदै हुनुहुन्छ । उहाँपछि बरिष्ठतम् न्यायाधीश सुशीला कार्की सो जिम्मेवारी पाउने क्रममा हुनुहुन्छ । नेपालको संविधानअनुसार संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ ।
यस्तै परिषद्को बैठकपछि अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । रासस
No comments:
Post a Comment