Sunday, April 24, 2016

भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

भक्तपुर, १२ वैशाख । ‘भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण’ योजनाबारे तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजबाट भक्तपुरमा सुरु भएको छ ।

ख्वपः इन्जिनियरिङ कलेजमा ख्वप इन्जिनियरिङ कलेज र ख्वपः कलेज अफ इन्जिनियरिङले आयोजना गरेको सम्मेलनको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले उद्घाटन गर्दै भूकम्पले दुःखमा जीवन बिताएका भूकम्पपीडितका लागि पुनःनिर्माणको काम सरकारले छिटो सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सांसद एवम् ख्वपः इन्जिनियरिङ कलेज व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले भूकम्पले भक्तपुरमा २३२ वटा सम्पदा क्षति भएको जानकारी दिनुभयो ।

अर्का सांसद अनुराधा थापामगरले धरापमा रहेका घर पन्छाउन नसक्ने भूकम्पपीडितका लागि सरकारले सहयोग गर्नुपर्ने बताउँदै एउटै घरमा अलगअलग बसेका दाजुभाइ सबैलाई राहत र सहयोगको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा डा घनश्याम लाल दास, भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, प्रहरी उपरीक्षक किरण बज्राचार्य, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत गणेश नेपालीलगायतले भूकम्पपीडितको सुरक्षाका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी १४ गतेसम्म ख्वप इन्जिनियरिङ कलेजमा सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत १५ देशको सहभागिता रहने कलेजका प्राचार्य एवम् संयोजक सुजन माकले जानकारी दिनुभयो ।

सम्मेलनमा नेपाललगायत चीन, भारत, डेनमार्क, इजिप्ट, इथियोपिया, जर्मन, चेक गणतन्त्र, आइरल्यान्ड, इटाली, जापान, मेक्सिको, पोल्यान्ड, स्विजरल्यान्ड, अमेरिकाका प्राध्यापक र शोधकर्ताले ६२ वटा शोधपत्र प्रस्तुत गर्ने छन् ।

भक्तपुर नगरपालिकाले धराप हटाउन रु दुई करोड ६० लाख खर्च भएको, भूकम्पीय जोखिम न्यूनीकरणका प्रविधिसहितको घर भवन निर्माणका लागि ३०० जना डकर्मी र सिकर्मीलाई तालिम दिएको सो अवसरमा जानकारी दिइयो ।

भक्तपुर पुनःनिर्माण अध्ययन समितिद्वारा समितिद्वारा तयार गरिएको शोधपत्र प्रस्तुति रहने सम्मेलनमा २४० जनाको सहभागिता रहेको र भूकम्पले पारेको प्रभाव एवम् पुनःनिर्माणमा भूकम्प प्रतिरोधी संरचना कसरी निर्माण गर्ने भन्नेबारेमा छलफल गरी घोषणापत्र जारी गरिने भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts