काठमाडौँ, १२ वैशाख । संयुक्त विद्यार्थी समितिले गतवर्ष भूकम्पमा परी जीवन गुमाएकाको सम्झनामा प्रदर्शनी मार्गमा आज साँझ श्रद्धाञ्जलि तथा दीप प्रज्वलन गरेको छ ।
नेकपा (एमाले) निकट अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेवि सङ्घ, एनेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीलगायत १३ विद्यार्थी सङ्गठन आबद्ध समितिले गएको वर्ष वैशाख १२ पछिका भूकम्पमा परी दिवङ्गत भएकाको आत्माको शान्तिका लागि कार्यक्रम गरेको हो ।
अनेरास्ववियुका उपाध्यक्ष महेश वर्तौलाले भूकम्पपछि विगतमा गरेको उद्धार तथा पुनःनिर्माणमा संयुक्त विद्यार्थी समितिले निर्वाह गरेको भूमिकाको सराहना गर्दै आगामी दिनमा समेत क्षतिग्रस्त ठाउँमा एकजुट भई लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यार्थी नेता आरसी लामिछानेले भूकम्प गएको एक वर्ष बितिसक्दासमेत पीडित तथा घरवारविहीनलाई आवश्यक सहयोग सरकारले गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै पुनःनिर्माणको कार्य चाँडो अगाडि बढाउन सम्पूर्ण विद्यार्थी सङ्घ सङ्गठनका तर्फबाट आग्रह गर्नुभयो ।
श्रद्धाञ्जलि तथा पुनःनिर्माणमा श्रमदान
यसैबीच, विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको पुनःनिर्माण तथा जीर्णोद्धार कार्यमा आज मानवअधिकार तथा शान्ति समाजका स्वयम्सेवकले श्रमदान गरेका छन् ।
गत वर्ष वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पुगेपछि बौद्धनाथ क्षेत्र विकास समितिले पुनःनिर्माण कार्य थालेको थियो ।
गत वर्षको भूकम्पमा ज्यान गुमाएकाको स्मरणमा श्रद्धाञ्जलि कार्यक्रमसमेत गरिएको समाजका महासचिव उत्तम पुडासैनीले जानकारी दिनुभयो ।
भूकम्पलगत्तै समाजले भूकम्प अतिप्रभावित जिल्लाका पीडितलाई लत्ताकपडा, खाद्य सामग्रीलगायतका राहत वितरण गर्दै आएको छ ।
रक्तदान कार्यक्रम
गोरखा भूकम्प गएको एक वर्ष पूरा भएको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद्ले पनि बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
भूकम्पमा परी घाइते भएका बिरामीले रगत अभावमा ज्यान गुमाउनु परेकाले भविष्यमा आउने प्राकृतिक प्रकोपमा परी रगतका अभावले कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयेजना गरिएको परिषद्ले जनाएको छ ।
परिषद्का केन्द्रीय कार्यालय प्रमुख कृष्णप्रसाद हुमागार्इंले कार्यक्रममा ५१ जनाले रक्तदान गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– “सरकारले भूकम्पमा परी घाइते भएकाको अझ पनि उचित उपचार व्यवस्था गर्न सकेको छैन । पीडितले पनि राहत पाएका छैनन् । सरकारले पीडितलाई अहिलेसम्म व्यवस्थापन गर्न नसक्दा उनीहरुमा निरासा छाएकाले सरकारको ध्यानाकर्षण गराउन पनि यो कार्यक्रमको आयोजना गरेका हौँ ।” रासस
No comments:
Post a Comment