काठमाडौँ, २३ चैत । काठमाडौँ उपत्यकामा लेन अनुशासन पालना नगर्ने दैनिक ५०० को हाराहारीमा सवारीसाधन कारबाहीमा पर्ने गरेका छन् ।
काठमाडौँ उपत्यकामा धेरैजसो सवारीसाधनले पछिल्लो समय लेन पालना नगर्ने गरेपछि गत चैत ८ गतेदेखि लेन पालना नगर्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार हालसम्म तीन हजार ९२२ सवारीसाधन कारबाहीमा परेका छन् । तीमध्ये एक दिनमा सबैभन्दा धेरै ७७७ र सबैभन्दा थोरै छ सवारीसाधन कारबाहीमा परेका छन् ।
महाशाखाका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेन्द्रदेव भट्टका अनुसार लेन पालना नगर्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेपछि केही कमी आएको बताउनुभयो । उहाँले भन्नुभयो, “लेन अनुशासनको पालना नगर्दा सडक जाम र सवारी दुर्घटना बढ्ने हुँदा हामीले यो अभियान चलाएका हौँ ।”
महाशाखाले लेन पालना नगर्नेलाई रु २०० जरिवाना र एक घन्टाको सचेतना कक्षा लिने गरेको छ ।
लेन काटेको सवारीसाधन भाग्न खोजे क्यामेराले खिच्ने र मोटरसाइकलले पछ्याएर समात्ने र कारबाहीको दायरामा ल्याउने गरिएको महाशाखाका सहप्रवक्ता भट्टले बताउनुभयो । रासस
No comments:
Post a Comment