काठमाडौँ, १४ वैशाख । वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीलाई गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ ।
नेपाली पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउने राष्ट्रियस्तरका वरिष्ठ पत्रकारमध्येबाट प्रत्येक वर्ष एक जनालाई सम्मान गर्न गोरखापत्र संस्थानले स्थापना गरेको उक्त पुरस्कार पहिलो पटक उहाँलाई प्रदान गर्ने निर्णय भएको गोरखापत्र संस्थानले जनाएको छ ।
प्रथम राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्र संस्थानको ११६औँ वार्षिकोत्सवका अवसरमा वैशाख २४ गते उहाँलाई सो सम्मान गर्ने कार्यक्रम छ । सो पुरस्कारको राशि रु ५५ हजार ५५५ र सम्मानपत्र रहेको छ ।
गोरखापत्र संस्थानका महाप्रबन्धक तथा छनोट समितिका संयोजक सुशील कोइरालाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले वरिष्ठ पत्रकार अधिकारीलाई सम्मान गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यमा गोरखापत्रका प्रधानसम्पादक पुष्कर माथेमा, प्रबन्ध सम्पादक श्रीओमप्रसाद श्रेष्ठ ‘रोदन’ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र बिष्ट रहनुभएको थियो ।
सरकारले गोरखापत्रको प्रकाशन भएको पहिलो दिन वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेपछि गत वर्ष चैत २२ गते गोरखापत्र संस्थान सञ्चालक समितिले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।
विसं २००९ जेठ २२ गते (४ जुन, सन् १९५२) मा ओखलढुङ्गामा जन्मनुभएका वरिष्ठ पत्रकार अधिकारीले सन् १९७८ मा बिबिसी लन्डनको नेपाली सेवाबाट पत्रकारिता सुरु गर्नुभएको थियो । उहाँ गोरखापत्रमा २०३६ देखि २०४७ सालसम्म कार्यरत हुनुहुन्थ्यो ।
पत्रकारिता क्षेत्रमा सक्रिय वरिष्ठ पत्रकार अधिकारीका परराष्ट्र, रक्षालगायत समसामयिक विषयमा समेटेर लेखिएका लेख स्वदेशी तथा विदेशी अखबार र सञ्चारमाध्यममा पढ्न र सुन्न पाइन्छ । विश्व विख्यात समाचार संस्था रोयटर्समा समेत केही वर्ष काम गर्नुभएका पत्रकार अधिकारी हाल सेन्टर फर मिडिया फ्रिडमको अध्यक्ष र नेपाल प्रेस इन्स्टिच्युटका सदस्य हुनुहुन्छ । रासस
No comments:
Post a Comment