चितवन, ४ वैशाख । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा शशांक कोइरालाले काँग्रेसले अस्थिरताको राजनीति गर्न नहुने भन्दै तत्काल सरकारका नजाने बताउनुभएको छ ।
प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जिम्मेवार, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिकामा काँग्रेस रहने बताउनुभयो ।
अस्थिर सरकारका कारण देशमा ७० वर्षसम्म विकास हुन नसकेको भन्दै उहाँले खाली मुखुन्डो फेरेर समस्याको समाधान नहुने हुँदा जिम्मेवार ढङ्गबाट सरकारले गरेका काममा काँग्रेसको समर्थन रहने बताउनुभयो । काँग्रेस एकताबद्ध भएर राष्ट्रका समस्या निराकरणका लागि जुट्नुपर्ने उहाँले बताउनुभयो ।
काँग्रेस सरकारमा रहँदा तीन महिनामा सरकार ढालिन्छ भन्ने गैरजिम्मेवार कुरा उठ्ने गरेको भन्दै उहाँले जति धेरै अस्थिरता बढ्छ त्यति नै अतिवादी शक्ति सक्रिय हुने हुनाले स्थायी सरकार आवश्यक रहेको उहाँले बताउनुभयो ।
सरकारले गर्ने आर्थिक समृद्धिका लागि हुने राष्ट्रिय योजनाका काममा सरकारलाई काँग्रेसले पूर्ण समर्थन गर्ने भन्दै उहाँले त्यसका लागि न्यायोचित ढङ्गबाट काम गर्न सरकारलाई आग्रह गर्नुभयो । न्यायोचित भएन भने सकारात्मक विरोध काँग्रेसको रहने बताउँदै उहाँले भन्नुभयो– “विकास र राष्ट्रिय योजनाका विरुद्धमा काँग्रेस कहिल्यै रहँदैन ।”
अहिले पनि तराईको समस्या समाधान नभएको भन्दै उहाँले सरकारले गम्भीर ढङ्गबाट मधेसी समस्या समाधानका लागि बाटो खोज्नुपर्ने बताउनुभयो । देशमा विद्यमान मधेसीलगायतका समस्या समाधानका लागि दुई तिहाइ बहुमत चाहिने र त्यसका लागि काँग्रेसको सहयोग चाहिने हुँदा सरकारलाई समस्या समाधानका लागि काँग्रेससँग मिल्नुको विकल्प नरहेको बताउनुभयो ।
फरक प्रशङ्गमा महामन्त्री कोइरालाले अब काँग्रेस एक भएर अघि बढ्ने बताउनुभयो । पूर्वसभापति गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाका बीचमा आफ्नै पहलमा तीनपटक वार्ता गराएको र सुशील कोइरालासँग देउवाको पटक पटक आफूले वार्ता गराएको भन्दै उहाँले अहिले पार्टीलाई एक ढिक्का बनाएर लैजाने कुरामा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
कोइराला परिवारको देउवासँग पहिले पहिलेदेखि नै कतिपय समयमा निकै राम्रो सम्बन्ध रहेको प्रशङ्ग कोट्याउँदै उहाँले बेलायतमा रहनुभएका देउवालाई नेपाल बोलाएर गृहमन्त्री गिरिजाप्रसाद कोइरालाले नै बनाएको बताउनुभयो ।
जात र थरको नभएर विचारको राजनीति हुनुपर्ने भन्दै उहाँले भन्नुभयो– “अब परिवार, रगतको नाता मात्रै होइन, विचारको नाता अर्थपूर्ण हुन्छ । बिपीको थर मात्र होइन, विचार अँगाल्न सक्नुपर्छ ।” रासस
No comments:
Post a Comment