सुरुङ्गा (झापा), १२ वैशाख । उपप्रधानमन्त्री तथा महिला, बालबालिका एवम् समाजकल्याण मन्त्री सिपी मैनालीले नेपाली काँग्र्रेस सरकारमा सहभागी नहुने बताउनुभएको छ ।
झापाको बिर्तामोडमा नेकपा (माले)ले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रतिपक्षमा बसेर नेपाली काँग्रेसले आफ्नो जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उहाँले मधेसवादी दललाई भने वार्तामा सहभागी हुँदै संविधान कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आग्रह गर्नुभयो ।
“वार्ता र संवादबिना समस्याको समाधान हुँदैन”– मन्त्री मैनालीले भन्नुभयो– “तपाईहरु वार्तामा आउनुहोस्, तपाईहरुसँग आँखामा आँखा जुधाएर वार्ता गर्न यो सरकार तयार छ ।”
भारतले गरेको नाकाबन्दीका कारण मुलुकमा कालोबजारी बढेकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री मैनालीले भन्नुभयो– “प्रशासनिक क्षेत्रमा काम गर्ने असल ड्राइभरको कमीका कारण जनताले अपेक्षा गरेअनुरुप कालोबजारी नियन्त्रण गर्न नसकिएको हो ।”
संविधान कार्यान्वयन र विकास निर्माणका कार्यलाई अघि बढाउने कार्यमा यो सरकार लागेको मन्त्री मैनालीले बताउनुभयो । उहाँले प्रतिपक्षका कोणबाट सरकारका कमीकमजोरीलाई बढाइचढाइ गर्नु प्रजातान्त्रिक मुलुकमा नौलो कुरा नभएको बताउँदै आफ्ना कमीकमजोरीप्रति पनि सरकार सजग छ, भन्नुभयो ।
उपप्रधानमन्त्री मैनालीले यो सरकारले भूकम्पपीडितका लागि उद्धार तथा राहतका कार्य गरिरहे पनि पूर्णरुपमा प्रभावकारी भने हुन नसकेको बताउनुभयो । सरकारभित्रका केही कमीकमजोरीका कारण भूकम्पपीडितले समयमा राहत नपाए पनि अब सरकारले जुनसुकै हालतमा पनि उनीहरुलाई यसै आर्थिक वर्षभित्र राहत तथा पुनःनिर्माणका काम सम्पन्न गर्ने बताउनुभयो । रासस
–––––––
No comments:
Post a Comment