काठमाडौँ, १४ वैशाख । दक्षीण अफ्रिकाका लागि आवासीय तथा वोत्स्वानाका लागि गैरआवासीय नेपाली राजदूत अमृतबहादुर राईले आज गणतन्त्र वोत्स्वानाका राष्ट्रपति लेफ्टिनेन्ट जनरल डा सेरेत्सेखाना इयान खामासमक्ष राजधानी ग्यावोरोनस्थित राष्ट्रपति भवनमा आयोजित सामारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो ।
सो अवसरमा राजदूत राईले राष्ट्रपति खामालाई राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो ।
समारोहमा वोत्स्वानाका विदेशमन्त्री डा पेलोनोमी भेन्सोन मोइतोइलगायत उच्च अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।
सो समारोहपछिको छोटो भेटमा राष्ट्रपति खामाले दुई देशबीचको सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपाल सरकार र जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुहुँदै दुई देशबीच व्यापार, लगानी, संस्कृति र आर्थिक क्षेत्रमा सहयोगका क्षेत्र पहिल्याउने बारे छलफल गर्नुभएको थियो ।
राजदूत राईले नेपालमा संविधानसभाबाट गतबर्ष नयाँ संविधान जारी भएको र नेपालले भोग्नु परेको भूकम्पको क्षतिबारे अवगत गराउनुभयो भने राष्ट्रपति खामाले भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो ।
तत्पश्चात राजदूत राईले विदेशमन्त्री मोइतोइसँग भेटवार्ता गरी दुवै देश भूपरिवेष्ठित र विकासोन्मुख राष्ट्र भएको परिप्रेक्षमा सहयोग आदानप्रदानबारे छलफल गर्नुभयो ।
वोत्स्वानाले आफ्नो व्यापार दक्षिण अफ्रिकाको डरवान र नामिवियाको वाल्भिस बे बन्दरगाहमार्फत वैदेशिक व्यापार सञ्चालन गर्ने गर्दछ भने हिरा यस देशको मुख्य आम्दानीको स्रोत रहेको छ । रासस
––––––––
No comments:
Post a Comment