काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माण र विकासको सङ्कल्पमा एकजुट भएर अघि बढनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
न्यूज ट्वेन्टीफोर टेलिभिजनको छैटौँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अप्ठ्यारो परिस्थितिमा समेत एकताबद्ध भएर एकसाथ परिस्थितिको सामना गरेर सहयोग पु¥याएकामा नेपाली जनताप्रति धन्यवाद भन्न चाहन्छु ।”
देशको रक्षा, विकास र आर्थिक समृद्धिका लागि वर्तमान सरकारले अर्जुनदृष्टिका साथ काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भूकम्पले ठूलो विध्वङ्स पारेकाले पूर्णरुपमा काम सम्पन्न गर्न समय लाग्ने भएपनि आगामी असारसम्ममा सबै नागरिकलाई छानामुनी ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।
आर्थिक उन्नतिका लागि पूर्वाधार, सडक, केवलकार, हवाई यातायात र सञ्चारको विकास गरी मुलुकलाई समृद्धितर्फ अग्रसर गराउने प्रयास भइरहेको बताउँदै उहाँले नेपाली सञ्चारजगत्ले सञ्चार क्षेत्रमा मात्र होइन, सामाजिक क्षेत्र र राजनीतिक प्रणालीमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख गर्नुभयो ।
देशलाई विकास र समृद्धिको दिशातर्फ उन्मुख गराउन आफूले अहोरात्र खटेर काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म कुरा प्रतियोगितामा होइन, काम प्रतियोगितामा विश्वास गर्छु, २४ घन्टामा एक पटक मात्र खाना खाएर केही घन्टामात्र आराम गरेर काम गर्दै आएको छु ।”
समाजका सबै समुदाय, तह र तप्कालाई समेटेर सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बताउँदै उहाँले मुलुकलाई प्रगतिको बाटोमा अगाडि लैजाने बाटोमा जति नै तँगारो हालेपनि आफूले विकास र समृद्धिका लागि जस्तोसुकै वाधा व्यवधानलाई छिचोलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा टेलिभिजनले साहित्य, खेलकुद, कृषि, समाजसेवा पर्वतारोहणलगायत क्षेत्रमा विशिष्ट योगदान पु¥याउने सात जनालाई सम्मान गरेको थियो । रासस
––––––––
No comments:
Post a Comment