काभ्रे, १२ वैशाख । नेपाल स्रष्टा समाजले आफ्नो नवौँ स्थापना दिवसको अवसरमा आज एक साहित्यिक वनभोज कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णु विभु घिमिरेको प्रमख आतिथ्यतामा काभ्रेको बल्थलीस्थित बल्थली माउण्टेन रिसोर्टमा साहित्यिक वनभोज कार्यक्रमको आयोजना गरेको हो ।
साहित्यिक पत्रकार संघले विगतमा यस्ता कार्यक्रम गर्ने गरेको स्मरण गर्दै प्रमुृख अतिथि डा. घिमिरेले भन्नुभयो “अहिले नेपाल स्रष्टा समाजले यस्ता राम्रा कार्यक्रम गरेर स्रष्टाहरूलाई एक ठाउँमा ल्याएकोमा समाजलाई धन्यवाद र वधाई छ ।” यस्तो कार्यक्रम भनेको सम्बन्धको मेला भएको बताउँदै उहाँले भन्नुभयो “कार्यक्रमले अन्तरक्रिया गर्ने, विचारहरूको आदानप्रदान गर्ने अवसर प्रदान गरेकोमा आफूलाई नयाँ उर्जा मिलेको छ ।”
नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले विशुद्ध रूपमा अव्वल साहित्यको प्रवद्र्धन गर्न समाजले यस्ता कार्यक्रम गर्ने गरेको बताउँदै कार्यक्रममा सरिक भएर कार्यक्रमको गरिमा बढाइदिनुहुने प्रमुख अतिथि, अतिथि तथा अन्य साहित्यकारहरूलाई धन्यवाद दिनुभयो ।
आफ्नो उपस्थिति देखाउन सस्ता कार्यक्रमहरू गर्ने प्रवृतिप्रति व्यङ्ग गर्दै गोखापत्रका प्रवन्ध सम्पादक श्रीओम श्रेष्ठ रोदनले भन्नुभयो “नेपाल स्रष्टा समाजले त्यो भिडबाट अलग पहिचान बनाएको छ ।” उहाँले आफ्नो खल्तीबाट खर्च व्यहोरेर स्रष्टाहरूलाई प्रकृतिको नजिक पुर्याउनु सह्रानीय कार्य भएको पनि बताउनुभयो ।
वरिष्ठ साहित्यकार विश्वविमोहन श्रेष्ठले नेपाल स्रष्टा समाजले थोरै समयमा अन्य साहित्यिक संस्थाभन्दा अलग पहिचान बनाएको र थुप्रै प्रशंसनीय कार्य गर्दै आएको बताउँदै आगामी दिनमा अझ राम्रा र उत्कृष्ट कार्यहरू गर्न सकोस् भन्ने शुभकामना दिनुभयो ।
नेपाल स्रष्टा समाजलाई नवौँ स्थापना दिवसको वधाई र शुभकामना दिँदै वरिष्ठ साहित्यकार किशोर पहाडीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नमा नेपाल स्रष्टा समाजको महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
नेपाल स्रष्टा समाजको स्थापनाकालको स्मरण गर्दै नेपाल स्रष्टा समाजका सल्लाहकार वरिष्ठ कथाकार शैलेन्द्र साकारले आगामी दिनमा साहित्यिक क्षेत्रमा अझ राम्रो गर्न सकोस् भन्ने शुभकामना दिनुभयो ।
समाजका सल्लाहकार जरा कलाका पारखी, वरिष्ठ साहित्यकार नरेन्द्र बहादुर श्रेष्ठले भन्नुभयो “यस्ता साहित्यिक काम गर्नु भनेको जटिल तर उत्तम काम हो, यसको हृदयदेखि प्रशंसा गर्दछु ।”
यस्ता अन्तरक्रियात्मक कार्यक्रमबाट स्रष्टाहरूलाई उर्जा मिल्ने बताउँदै अर्का वरिष्ठ साहित्यकार, साहित्यिक पत्रकार ध्रुव मधिकर्मीले भन्नुभयो “यसले स्रष्टाबीच सम्बन्ध सुधार र बिस्तार गर्नसमेत सहयोग पुगेको छ ।”
साहित्यिक पत्रकार जयदेव भट्टराईले साहित्यिक मनोरञ्जनात्मक अन्तरक्रियात्मक कार्यक्रमबाट स्रष्टालाई उत्प्रेरणा मिलेको बताउँदै यस्ता कामलाई निरन्तरता दिन नेपाल स्रस्टा समाजलाई अनुरोध गर्नुभयो ।
पत्रकार, साहित्यकार तुलसीहरि कोइरालाले नेपाल स्रष्टा समाजले यस्ता कार्य तारिफयोग्य काम गरिरहेको बताउँदै त्यसको एउटा भाग आफूपनि हुन पाएकोमा समाजलाई धन्यवाद दिनुभयो ।
नेपाल स्रष्टा समाजका उपाध्यक्ष इल्या भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णु विभु घिमिरे, वरिष्ठ कथाकार शैलेन्द्र साकार, वरिष्ठ साहित्यकार, समाजसेवी नरेन्द्र बहादुर श्रेष्ठ, वरिष्ठ साहित्यकारहरू श्रीआम् श्रेष्ठ रोदन, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडि, धु्रव मधिकर्मी, पत्रकार जयदेव भट्टराई, तुलसीहरि कोइरालालगायत समाजका अध्यक्ष पवन आलोक, उपाध्यक्ष इल्या भट्टराई, कोषाध्यक्ष पुष्पा खनाल, सदस्यहरू प्रा. डा. गोविन्दमान सिंह कार्की, नवराज तिमल्सिना, आर्या शाह तथा आजीवन विशिष्ट सदस्यहरू अनल गौतम, रश्मी रिमाल, देवकी केसीका साथमा विशिष्ट सदस्यहरू मुखाले रेग्मी, मधुसुदन घिमिरे र ज्ञान बहादुर खड्काको उपस्थिति रहेको थियो ।
उपस्थित सम्पूर्ण स्रष्टाहरूले आ–आफ्ना रचनाहरूमार्फत् देशमा भइरहेको विकृति, विसङ्गतिप्रति व्यङ्ग्य गर्दै साहित्यमार्फत् देश विकासमा योगदान गर्न लागि पर्ने बताउनुभयो । कार्यक्रम शुरू हुनपूर्व साहित्यकारहरूले बल्थली क्षेत्रमा रहेका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुभएको थियो ।
पुष्पा खनाल
No comments:
Post a Comment