Saturday, April 23, 2016

भूकम्पमा एकै परिवारका चार सदस्य गुमाएकाको बिचल्ली

दोलखा (जफे), ११ वैशाख । दोलखाको दक्षिणी गाउँ जफे–४ का महत परिवार भूकम्प गएको एक वर्ष वितिसक्दा पनि बिचल्लीमा नै रहेको पाइएको छ ।

गत वर्ष वैशाख १२ गते गएको भूकम्पबाट आफ्ना परिवारका चार सदस्य गुमाएका महत परिवारको दुई टुहुरा बालबालिका र दुई महिलाको अवस्था दयनीय रहेको छ ।

खेती किसान गरेर जीविकोपार्जन गरी बाँचेका महतका परिवारलाई आफ्ना कमाउने सदस्य नै गुमाएपछि अहिले बाँच्नै धौधौ भएको छ ।

बस्दै आएको पुरानो घर भत्किएर एकै ठाउँमा चारजना पुरेको थियो । सो घटनापछि घर भएको स्थान छोडेर अहिले उनीहरु आफ्नो बेँसीमा जमिनमा टहरा निर्माण बनाएर बस्न थालेका छन् ।

परिवारमा भएका आठ सदस्यमध्ये भूकम्पबाट बाँचेका चार सदस्य छौँ, घाइते आमा, पाँच वर्षे दाइका छोरा, तीन वर्षीया छोरीको हेरचाह र पालनपोषणले पिरोल्छ म एक्लैले के गरेर यी सन्तानको हेरचाह र पालनपोषण गरौँ भन्नुहुन्छ २४ वर्षीया सुनिता महत ।

सुनिता महतले भूकम्पमा आफ्नो ६८ वर्षीय बुबा त गुमाउनु भयो नै बुबासँगै भर्खरका लक्का जवान ३० वर्षीय दाजु, २५ वर्षीय भाउजू र १३ महिनाकी एक भदेनी छोरी गुमाएको पीडाले घाउ चह¥याइरहेको र गत वर्ष गएको भूकम्प नसम्झाइदिन आग्रह गर्नुहुन्छ । गहभरि आँसु पार्दै सुनिता भन्नुहुन्छ– “घरमा बुबा र दाइले सबै घरखर्च हेर्नुभएको थियो, उहाँहरु बितेसँगै हाम्रो दैनिकी मैले कमाएको रु तीन हजारले चलेको छ ।

सुनिता गाउँ नजिकैको गोगनेडाँडा प्राविको निजी स्रोतमा रु तीन हजार तलब खाएर पढाउने शिक्षिका हुनुहुन्छ । उहाँ भन्नुहुन्छ–“पुरानो घाउ नसम्झाइदिनुस् हामी पागलजस्तै हुन्छौँ ।’’ हामी परिवारका सदस्य गुमाएर पटकपटक मरेर बाँचेका मान्छे भन्दै उहाँ धेरै बोल्न सक्नुभएन । गत वर्षको वैशाख १२ गतेका दिन नै गएको भूकम्पले महत परिवारका चार सदस्य एकैचोटी एकै ठाउँमा गुमाउँदाको पीडाले उनीहरुको मानसिक सन्तुलन गुमाएकाहरुको जस्तो झैँ भएको छ ।

सुनिताकी आमा नरमाया महत आफ्ना श्रीमान्, छोरा–बुहारी र नातिनी वितेकाहरुसँगै घाइते भई बाँचेर अहिलेसम्म संसार देखिरहनुभएको छ । नरमाया १२ गतेको भूकम्पले गम्भीर घाइते हुनुभएको थियो ।

घरले थिचेर घाइते भएका कारण उहाँको उपचारका लागि काठमाडौँ वीर अस्पतालमा उपचार गरी घर फर्काएको छोरी सुनिताको भनाइ रहेको छ । सुनिता भन्नुहन्छ– “आमाको उपचार गर्दा दोलखाको अस्पतालमा राख्दा थुप्रै खर्च भयो त्यसपछि काठमाडौँ लानु पर्छ रे भने लाँदा ल्याउँदा र बस्दा गरेर सरकारले दिएको सहयोग बुबा, दाइ–भाउजू र भदिनीको किरिया खर्चमा सिद्धियो ।”

घाइते नरमाया भन्नुहुन्छ– “मलाई घरभित्र पुरेको ठाउँबाट खनेर निकाले छन्, अरु त भागेर बाँचे होला भनेको मैले उल्टै श्रीमान्, छोरा–बुहारी र नातिनीको काजकिरिया गर्नु प¥यो । भगवान्ले हामीलाई त ठगे नै तर यी मसिना बालबालिकाले कसको के बिगारेका थिएर ? टुहुरा बन्नु प¥यो” भन्दै उहाँले दुःखेसो पोख्नुभयो ।

सुनिता भन्नुहुन्छ – “विगत वर्षमा नै पाँच वर्षीय छोराको भर्ना गरेका थियौँ, अहिले खर्च अभावमा भर्ना गर्न सकेका छैनौँ, कोही दयालु मान्छे वा सङ्घसंस्थाले सहयोग गरे निजी स्कुलमा पढाउने थियौँ, भएन भने मैले पढाउने विद्यालयमा नै भर्ना गर्नुपर्ला । सबै दुःख भुलेर यिनै बाँचेकाको अनुहार हेरेर बसेका छौँ”, सरकारले रु दुई लाख दिने सुनेका छौँ, सुनिताले भन्नुभयो ।

भूकम्पमा सुनिता भागेर बाँच्नुभयो, उहाँको आमा नरमाया घरभित्रै पुरिँदा ढाडको तीनवटा हाड भाँच्चिएका कारण अझै सिधा हिँडडुल गर्न सक्ने अवस्थामा सुनिता सक्नुहुन्न । उहाँ भन्नुहुन्छ – “हाम्रो टहरो खेतमा छ, वर्षा सुरु भएपछि पानीले डुबान हुन्छ, मर्ने त मरेर गए बाँच्नेहरुको पनि मरे सरह जीउनु परेको छ ।’’
सो भूकम्पमा परी सुनिताको परिवारका बुबा अम्बरबहादुर, दाइ उत्तम, भाउजू दिव्या र भदेनी दीक्षा महतको मृत्यु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts