रुकुम, १२ वैशाख । एकीकृत नेकपा (माओवादी)का नेता जनार्दन शर्माले यथास्थितिमा स्थानीय निकायको चुनाव गर्न नहुने बताउनुभएको छ ।
स्थानीय निकायको निर्वाचन छिटै गर्नुपर्ने आवश्यकता महसुस भएपनि नयाँ संविधानअनुसार नभई पुरानै तरिकाबाट चुनाव भए राजनीतिले फरक मोड लिनेसमेत उहाँको भनाइ छ ।
वाइसिएल रुकुमको चौथो जिल्ला सम्मेलनका लागि रुकुम आउनुभएका नेता शर्मासँग क्रान्तिकारी पत्रकार सङ्घ रुकुमले खलङ्गामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो कुरा बताउनुभएको हो ।
नयाँ संविधानमार्फत देश सङ्घीय संरचनामा गइसकेको उल्लेख गर्दै गाउँपालिका निर्माण नगरेर चुनाव गर्नतिर लागियो भने अर्को खालको विवाद सिर्जना हुने बताउँदै पूर्व शान्ति मन्त्री समेत रहनुभएका नेता शर्माले आगामी कात्तिकभित्र स्थानीय निर्वाचन गराउने भनिएकोमा यसबीचमा गाउँपालिका निर्माण गरेरमात्र स्थानीय निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
“गाउँपालिका निर्माण नगरेर हामी नयाँ निर्वाचनतिर लाग्यौँ भने अर्को किसिमको विवाद सिर्जना हुन्छ”– उहाँले भन्नुभयो– “त्यसले गर्दा जसरी हामी अब आर्थिक समृद्धि र विकासतिर जाने भनेका छौँ त्यो अर्कोतिर मोडिन सक्छ ।”
“हामी स्थानीय निकायको नयाँ निर्वाचनको पक्षमा नै छौँ तर नयाँ संविधान त्यसमा व्यक्त हुनुप¥यो”–उहाँले भन्नुभयो । राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर संविधान कार्यान्वयन गर्नुपर्ने कुरामा पनि जोड दिनुभएका नेता शर्माले त्यसका लागि प्रमुख तीन दल गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।
तीनवटै दलका शीर्ष नेता बसेर देशको समृद्धि र नयाँ संविधान कार्यान्वयनका लागि नीतिगत योजना बनाउनुपर्ने समेत उहाँले आवश्यकता आँैल्याउनुभयो । रासस
–––––––
No comments:
Post a Comment