लाप्राक (गोरखा), १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पको पीडालाई बिर्सन शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनुभएको छ ।
भूकम्पले क्षतिग्रस्त गोरखाको लाप्राक गाविसको पुनःनिर्माणका लागि आज यहाँ भएको त्रिपक्षीय सम्झौता कार्यक्रममा राष्ट्रपति भण्डारीले आफूहरु भूकम्पपीडित जनताको मनोबल उच्च बनाउन र सुखदुःख बाँड्न यहाँ आएको बताउनुभयो ।
विपत्तिको सामना गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “भूकम्पले घरबारविहीन भएकाको चाँडोभन्दा चाँडो उचित व्यवस्थापन गर्ने सरकारी प्रतिबद्धताअनुसार काम अघि बढोस्, यही मेरो सुभेच्छा छ ।”
विपद्मा धैर्य गरी सामना गर्ने स्थानीयको उच्च मनोबलको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले विपद्को घडीमा सहयोग गर्ने सबै स्वदेशी एवम् विदेशी सङ्घसंस्थाको सहयोगको प्रशंसासमेत गर्नुभयो ।
दुःखलाई बिर्सेर उत्साहका साथ सबै मिलेर सुखद भविष्यका लागि लाग्नुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले पुनःनिर्माण र नवनिर्माण अभियानमा सबै मिलेर अघि बढेमात्र सफलता प्राप्त हुनेमा जोड दिनुभयो ।
गतबर्ष २०७२ मा ‘गोरखा भूकम्प’ गएको एक वर्षपछि आज गोरखाको लाप्राक गाविसको गुप्सीपाखामा आयोजित कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच त्रिपक्षीय सम्झौता भएको हो ।
कार्यक्रममा एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले क्षतिग्रस्त लाप्राकको बस्तीमा बन्ने नमुना गाउँ जस्तै मुलुकभर निर्माण गर्नुपर्ने बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले पूर्वाधार निर्माणका योजनामा सचेत भए भूकम्प रोक्न नसके पनि भूकम्पले गर्ने क्षतिलाई कम गर्न सकिने बताउनुभयो ।
गोरखामा केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते गएको ७.६ रिक्टर स्केलको भूकम्पले लाप्राक गाविसका सबै घर क्षतिग्रस्त भएका थिए । लाप्राक गाविसको सो बस्ती भूकम्पले चिरा परेर जोखिममा परेपछि सरकारले त्यस बस्तीलाई सोही गाविसको गुप्सीपाखामा रहेको सामुदायिक र राष्ट्रिय वनको १८.३२ हेक्टर जमिनमा सार्ने निर्णय गरेको थियो । सरकारको निर्णयसँगै भूकम्पपीडित लाप्राकवासी गुप्सीपाखामा अस्थायी टहरा निर्माण गरी बसेका छन् ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले क्षतिग्रस्त लाप्राकवासीका लागि एनआरएनएको सहयोगमा गुप्सीपाखामा नमुना एकीकृत बस्ती निर्माण हुने अवगत गराउँदै निर्माणमा सरकारले बाटो, खानेपानी, बिजुलीलगायत पूर्वाधार निर्माण गर्ने बताउनुभयो ।
एनआरएनएले सरकारी तथ्याङ्कको सूचीअनुसार गुप्सीपाखामा दुई वर्षभित्रमा ५७८ घर निर्माण गर्ने सम्झौतामा आज हस्ताक्षर भएको छ । सो सम्झौतापछि एनआरएनएले प्रतिघर रु दुई लाख ५० हजार लागतमा नमुना एकीकृत बस्ती निर्माण गर्नेछ ।
एनआरएनएका अध्यक्ष डा शेष घलेले आफूले नेपालको पुनःनिर्माण र नवनिर्माणमा सच्चा साझेदार बन्ने घोषणा गर्दै सहयोगका हात अघि बढाएको बताउनुभयो । अध्यक्ष डा घलेले पुनःनिर्माणमा सच्चा साझेदार बन्ने एनआरएनएको उत्कट चाहनाअनुसारको काम आजदेखि सुरु भएको बताउँदै यसमा सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, गोरखाका प्रमुख श्यामकिशोर सिंह, लाप्राक गाविस सचिव ध्रुव पराजुलीलगायतले लाप्राकको पुनःनिर्माणमा नमुना बस्ती विकास गर्न सबैको सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।
गाविसले बस्ती पुनःनिर्माणका लागि विस्तृत सर्भेक्षण गरी घर निर्माणका लागि सूची सार्वजनिक गरिसकेको छ । दुई वर्षभित्र घर निर्माण हुने सम्झौतासँगै लामो समयसम्म सरकारको आशामा मात्र रहेका लाप्राकवासीको मुहारमा खुसी छाएको छ । रासस
––––––––
No comments:
Post a Comment