काठमाडौँ, १९ चैत । विभिन्न राजनीतिक दल निकट युवा सङ्घसङ्गठनले मुलुकको राष्ट्रिय अखण्डता कायम राख्न भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेका छन् ।
युवा सङ्घ नेपालको अग्रसरतामा नेपाल तरुण दल, वाइसिएल, तराई–मधेस युवा फोरम, सद्भावना युवा फोरम लगायत राजनीतिक दल निकट युवाको आज बसेको संयुक्त बैठकले नेपालको आन्तरिक विषयमा हस्तक्षेप गर्ने गरी भारत र युरोपेली सङ्घले दिएको अभिव्यक्ति स्वाभिमानी नेपालीका लागि स्वीकार्य हुन नसक्ने ठहर गरेको छ ।
राजनीतिक विषयको सम्बोधनपछि मात्रै नेपालमा राजनीतिक तथा आर्थिक स्थिरता आउने छ भन्नेजस्ता विषय संयुक्त वक्तव्यमा राख्ने कार्य प्रजातान्त्रिक मुलुकबाट प्रजातान्त्रिक मूल्य मान्यताविरुद्ध आएको भनी दुःख व्यक्त गरिएको छ ।
त्यसैगरी बैठकले कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्न बजेट युवामैत्री बनाउन र मधेसमा भएका सांस्कृतिक तथा सामाजिक विभेद अन्त्य गर्नका लागि माग गरेको बैठकमा सहभागी युवा सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।
युवा सङ्घका अध्यक्ष राजीव पहारीले भारत र युरोपेली सङ्घले बेल्जियमको ब्रसेल्समा भएको १३ औँ सम्मेलनबाट दिएको संयुक्त वक्तव्यमा नेपालको स्वाधीनतामा आँच आउने गरी संविधानका बारेमा टीकाटिप्पणी भएकामा चिन्ता व्यक्त गर्नुभयो ।
यसैबीच चुरेभावर राष्ट्रिय एकता पार्टीले पनि ब्रसेल्स सम्मेलनमा नेपालका प्रतिष्ठा र स्वाधीनतामा ठेस पु¥याउने गरी आएका अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज जारी गरेको विज्ञप्तिमा बाह्य मुलुकले यस विषयमा बोल्नुपर्ने आवश्यकता नरहेको बताइएको छ । रासस
No comments:
Post a Comment