उर्लाबारी (मोरङ), १९ चैत । मोरङको मझारे गाविस वडा नं ८ र ९ को सिमानामा पर्ने लोहन्द्रा खोलामा निर्माण हुने पक्की पुलको आज एक समारोहकाबीच शिलान्यास गरिएको छ ।
कटहरी–तरिगामा सडकको लोहन्द्रा पुलको मोरङ क्षेत्र नं ५ का सांसद अमृत अर्यालले शिलान्यास गर्नुभएको हो । रु छ करोड ३६ लाखमा निर्माण गर्न लागिएको सो पुलले मोरङको आधा दर्जनभन्दा बढी दक्षिणी गाविसलाई जोड्नेछ ।
आगामी २०७४ साल माघ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी पप्प–कार्की बन्धु निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको मोरङका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले जानकारी दिनुभयो ।
लोहन्द्रा खोलामा पुल नहुँदा स्थानीयवासी विराटनगर आउँदा भारतीय भूमि प्रयोग गर्न बाध्य थिए । पुल निर्माणपछि बुधनगर, मझारे, पोखरीया, नोचा, भाथिगछ, कटहरी, सिसवनीजहदालगायत गाविसका एक लाखभन्दा बढी लाभान्वित हुने स्थानीयवासी समेत रहनुभएका मोरङ काँग्रेसका जिल्ला सदस्य राजेश गुप्ताले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद अर्यालले विकास निर्माणका काममा राजनीति गर्न नहुनेमा जोड दिनुभयो । निःस्वार्थ भावना बोकेर आफ्नो क्षेत्रको विकासमा लागेको बताउँदै अर्यालले विकास निर्माणको काममा स्थानीयवासीको समेत सहयोग आवश्यक रहेको उल्लेख गर्नु भयो । रासस
No comments:
Post a Comment