Sunday, April 17, 2016

एक्काइसौँ वन्यजन्तु सप्ताह मनाइँदै

काठमाडौँ, ५ वैशाख । एक्काइसौँ वन्यजन्तु सप्ताहका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज विभिन्न कार्यक्रम गरेको छ ।

विसं २०५३ देखि बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहसम्म वन्यजन्तु सप्ताह मनाउँदै आएको विभागले यस वर्ष “वन्यजन्तुको भविष्य हाम्रो हातमा” नाराका साथ सप्ताह मनाएको छ ।

विभागले यस साताभर वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले मुलुकभर २० वटै संरक्षण क्षेत्रमा विभिन्न कार्यक्रम गरेको विभागका सहायक संरक्षण शिक्षा अधिकृत भोजराज पन्थले जानकारी दिनुभयो । सप्ताहअन्तर्गत विभागले वैशाख १ गते विभिन्न सञ्चारमाध्यममार्फत सन्देशमूलक कार्यक्रम, २ गते वन सम्बन्धी चित्रकला प्रतियोगिता, ४ गते शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चरा अवलोकन तथा सो सम्बन्धी चेतनामूलक कार्यक्रम गरेको छ ।

त्यस्तै ६ गते सदर चिडियाखानामा कविता प्रतियोगिता र ७ गते वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा विभाग परिसरमा समापन समारोह गर्ने अधिकृत पन्थले बताउनुभयो । सबैको साझा प्रयासबाट मात्र वन्यजन्तुको संरक्षण सम्भव छ भनेर मनाइँदै आएको वन्यजन्तु सप्ताहलाई थप प्रभावकारी बनाउन विभागले निकट भविष्यमा नयाँ अवधारणा ल्याउने जनाएको छ ।

विभागले मुलुकभर १४ राष्ट्रिय निकुञ्ज, तीन वन्यजन्तु आरक्ष, छ संरक्षण क्षेत्र र एक सिकार आरक्षमा आफू अनुकूल कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाउन निर्देशन दिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts