काठमाडौँ, ६ चैत । आन्दोलनरत सङ्घीय गठबन्धनले मुलुक बचाउने देशभक्तिपूर्ण राष्ट्रिय एकताको आन्दोलन गर्ने भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका विभिन्न जातीय सङ्गठनको संयुक्त गठबन्धनले राष्ट्रिय एकतालाई मजबुत गर्ने र उत्पीडित समुदायको अधिकारप्राप्तिका लागि एकताबद्ध भएर आन्दोलन गर्ने घोषणा गरेको हो ।
सङ्घीय गठबन्धनले आज यहाँ आयोजना गरेको ‘संयुक्त राष्ट्रिय आन्दोलनको अपरिहार्यता’ विषयक बृहत् अन्तक्र्रियाका वक्ताले सबै जाति तथा समुदायको अधिकार सुनिश्चितताका लागि देशभक्तिपूर्ण आन्दोलन गर्ने प्रतिबद्धता जनाए ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माफीयातन्त्र र कालोबजारीबाट मुलुक आक्रान्त बनेको भन्दै अब मुलुक बचाउने आन्दोलन सुरु गरिने बताउनुभयो ।
“विगतका सबैखाले आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त हुने अवस्था आएको छ, अब राष्ट्रिय एकतालाई मजबुत गर्र्ने देशभक्तिपूर्ण राष्ट्रिय एकताको आन्दोलन सुरु हुन्छ, भोलि मङ्गलबारदेखि गठबन्धनको बैठक बसी आन्दोलनका भावी कार्यक्रम तय गरिनेछ”– उहाँले भन्नुभयो ।
अध्यक्ष यादवले संविधानले मधेसी, थारु, आदिवासी, जनजाति तथा उत्पीडित समुदायको अधिकारमाथि विभेद गरेको भन्दै विगतका सम्झौताको कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफूहरु वार्ता विरोधी नभएको तर वार्ताका लागि सरकार संवेदनशील नरहेको आरोपसमेत लगाउनुभयो ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसीका मुद्दाप्रति सरकार गम्भीर नरहेको भन्दै पहिचानको आन्दोलन जारी रहने बताउनुभयो ।
उहाँले वार्ताबाट समस्या समाधान गर्न सकिन्छ तर ३६ पटकसम्म वार्ता हुँदा पनि समस्याको समाधान ननिस्कनुमा दोषी को ? भनी प्रश्न पनि गर्नुभयो । पूर्वसभामुख दमननाथ ढुङ्गानाले वार्ताका माध्यमबाटै विद्यमान समस्याको समाधान खोज्न सकिने बताउनुभयो ।
कार्यक्रममा सङ्घीय लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङ्देन, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राई, ताम्सालिङ सङ्घर्ष समितिका संयोजक जय गोले, तमुवान सङ्घर्ष समितिका संयोजक गणेशमान गुरुङलगायतले पहिचानसहितको सङ्घीय राज्य निर्माण नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
विभिन्न जातीय सङ्गठनका शीर्ष नेता तथा नागरिक समाजका अगुवा सहभागी उक्त कार्यक्रममा सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीलगायतका मधेसी नेताहरुले भने सम्बोधन गर्नुभएन । रासस
No comments:
Post a Comment