रामपुर (पाल्पा), ३ वैशाख । मदनपोखराकी सावित्री सुनार ढाका बुनाइको आम्दानीले घरखर्च चलाउनुका साथै छोराछोरीको पठनपाठन अघि बढाउँदै आउनुभएको छ ।
यस्तै मस्यामकी भगवती दर्लामी पनि पाल्पाली ढाकाको हाते तान बुनेर जीविका चलाउँदै आउनुभएको छ । उहाँका श्रीमान्ले विदेशमा कमाएको पैसा बचत भएको छ ।
दर्लामी र सुनार मात्र होइन छापमा ४० भन्दा बढी महिलाले ढाका कपडा बुन्ने रोजगारी पाएका छन् । उनीहरुले ढाका कपडा बुनेर मासिक रु पाँच हजारदेखि रु १५ हजारसम्म कमाउने गरेका छन् । मदनपोखरा, तानसेन नगरपालिका, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दिपोखरा, अर्गलीलगायत क्षेत्रमा हाते तान र जेकार्डबाट ३०० भन्दा बढी महिलाको रोजगारी ढाकाकपडा बुनाइ बनेको छ ।
जिल्लाकै पहिलो ढाका उद्यमी तथा पाल्पाली ढाका कपडाकी संस्थापक पूर्णमाया महर्जन महिला आफैँले व्यवसाय गरी ढाका कपडा बुनेर आत्मनिर्भर बन्दै गएका बताउनुहुन्छ । छिटो बुनिने हुँदा पछिल्लो समय पाल्पाली ढाका हातेतान भन्दा पनि मेसिनबाट चल्ने जेकार्ड हाते तानमा बुन्ने गरिन्छ । विसं २०१५ मा तानसेनमा हाते तान सुरु गरे पनि विस्तारै यसको मेहनत अनुसारको आम्दानी हुन छाडेपछि जेकार्डबाट बुन्न थालिएको महर्जनको भनाइ छ ।
मदनपोखराको छापमा ढाका उद्योग सञ्चालन गर्नुभएका अमृत श्रेष्ठले ज्याला वृद्धि भएपछि मनग्य कमाइ हँुदा यहाँका महिला ढाका बुनाइ कपडाबाट आत्मनिर्भर बन्दै गएको बताउनुभयो । एक मिटर ढाका बुनेको रु १९० देखि रु ४०० सम्म ज्याला तथा विभिन्न अकारप्रकारमा बुनिने ढाकाको बुट्टाअनुसार फरक÷फरक ज्याला दिने गरेको ढाका उद्योगी रामबहादुर ठकुरी बताउनुहुन्छ ।
तानसेनमा सञ्चालित १३ वटा उद्योगले गाउँमा महिलाले बुनेका ढाका कपडा खरिदबिक्री गर्दै आएका छन् । विसं २०१५ मा गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि यसको सुरुवात भएको बताइन्छ । उहाँकी श्रीमती पूर्णमायाका अनुसार त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाबाट बुन्ने काम गराउँदा बन्दिलाई ढाका कपडा आम्दानीको राम्रो माध्यम बनेको थियो ।
श्रीमान् नभएका, श्रीमान्ले दुःख दिएका, गरिब, विपन्न महिलाको बलियो रोजगारी ढाका कपडा बुनाई बनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै ख्याती कमाएको पाल्पाली ढाकाको व्यापारको माग बजारमा बढ्दो छ । पहिला तानसेनका हरेक घरमा तान चलाएर ढाकाको उत्पादन गरिन्थ्यो । तर अहिले ती तान चलाउन छाडिएपछि उत्पादन कम माग बढी भएको ढाका व्यवसायी बताउँछन् ।
ढाकाका सामग्री जिल्लामा घुम्न आउने आन्तारिक तथा बाह्य पर्यटकले उपहारको रुपमा लैजाने गरेका छन् । रासस
No comments:
Post a Comment