पर्सा, ४ वैशाख । भारतीय चलचित्रका प्रख्यात अभिनेता मुकेश खन्नाले नेपाली संस्कृतिको विनाश गर्ने मौका कसैलाई पनि नदिन अपिल गर्नुभएको छ ।
उहाँले नेपाली संस्कृतिमाथि बाहिरीया प्रहार भइरहेको बताउँदै अभिनेता खन्नाले शक्तिलाई सञ्चित गरी संस्कृतिको रक्षामा लाग्न सबै नेपालीलाई आग्रह गर्नुभयो ।
नव वर्ष २०७३ को शुभ उपलक्ष्यमा हिन्दू स्वयम्सेवक सङ्घ पर्साले आज वीरगन्जमा आयोजना गरेको सांस्कृतिक दौड प्रतियोगिताको उद्घाटन गर्दै प्रसिद्ध टिभी सिरियल महाभारतमा भिष्म पितामहको भूमिका निर्वाह गरेका अभिनेता खन्नाले विश्वको एकमात्र हिन्दूराष्ट्रका रुपमा रहेको नेपालको संस्कृतिलाई सिध्याउन बाहिरी शक्ति लागिपरेकाले सोविरुद्ध सबै नेपाली एकजुट भई लाग्न आग्रह गर्नुभयो ।
उहाँले पूरै विश्व इस्वी संवत्ले सञ्चालन भएपनि नेपालले प्रयोग गर्दै आएको विक्रम संवत्लाई कुनै पनि हालतमा बदल्न नहुने सुझाव दिनुभयो ।
वीरगन्जको घन्टाघरबाट सुरु भएको छ किमी दूरीको दौड प्रतियोगितामा पर्साको पचरुखी जिगनाका एथ्लेटिक्स खेलाडी आजाद मुखिया प्रथम, प्रिन्स मुखिया द्वितीय र टिकुलीयाका मेवालाल साह तृतीय भएका छन् । विजेतालाई अभिनेता खन्नाले नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मानित गर्नुभएको थियो ।
पुरस्कार वितरण समारोहमा पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ, वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक वैद्य, ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख ललन द्विवेदीलगायतको उपस्थिति रहेको थियो । रासस
No comments:
Post a Comment