पोखरा, १७ वैशाख । ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ आजदेखि लेखनाथ नगरपालिकाको बेगनास तालस्थित मन्दरेपार्क दोस्रो बेगनास फिस फेस्टिबल सुरु भएको छ ।
होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा भएको सो फेस्टिबलमा त्यस ठाउमा रहेका दिपाङ, बेगनास र रुपातालमा पाइने २३ थरीका माछाका परिकार बनाएर दर्शकलार्ई खुवाउनुका साथै ती सबै जातका जीवित माछाको प्रदर्शनसमेत गरिनेछ ।
यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडीबुटी र पर्यटकीयस्थलको प्रचारप्रसार तथा स्थानीय जातका माछाको संरक्षण एवम् आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको छ ।
महिला तथा पुरुष खुला डुङ्गा दौड, माछा तथा खानाका कक्ष, माछा र मह तथा कफी एवम् जडीबुटीको प्रदर्शनी, पप कन्सर्ट, लोक दोहोरी र स्थानीय सांस्कृतिक कार्यक्रम फेस्टिबलमा प्रस्तुत गरिनेछ ।
फेस्टिबल करिब ७० हजार दर्शकले अवलोकन गर्ने र रु ५० लाखभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ ।
फेस्टिबल अवधिभर तीन वटा तालबाट तीनदेखि चार टनसम्म माछा खपत हुने र महोत्सवमा आउने दर्शकलाई स्थानीयस्तरकै माछाको स्वाद चखाउने आयोजकले जनाएका छन् ।
सांसद यज्ञबहादुर थापाले आज फेस्टिबलको उद्घाटन गर्दै राजनीतिक पूर्वाग्रह नराखी विकास निर्माणका कार्यमा सबै राजनीतिक दल एक ढिक्का भएर अघि बढ्न आग्रह गर्नुभयो ।
लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले लेखनाथलाई पर्यटनमैत्री सहर बनाउनुपर्नेमा जोड दिनुभयो ।
फेस्टिबल यही वैशाख १९ गतेसम्म चल्नेछ । सो फिस फेस्टिबलमा २५ वटा विभिन्न कक्ष राखिएको छ । रासस
No comments:
Post a Comment