दोलखा, ६ वैशाख । दोलखाका भूकम्पपीडितले पटक पटक गएको भूकम्प र त्यसका परकम्पको त्रास त भुलेका छैनन् नै तर विदेशमा गएको भूकम्पको समाचार र आफ्नै जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको समाचार सुन्दा गाउँ नै छोडेर अन्तै कतै जाउँ झँै लाग्ने उनीहरुले बताएका छन् ।
दोलखाको अत्यन्तै दुर्गम गाविस मार्बुका महिलाले आफूहरुले रेडियोबाट जापानलगायतका मुलुकमा गएको भूकम्पको समाचार सुनेपछि गाउँ नै छोडेर कतै जान पर्ने बाध्यता आइलागेको पो हो कि भन्ने त्रास उब्जिएको बताए ।
भौगोलिक हिसाबले पहाडको बीच भागमा रहेको यस गाविसका स्थानीय महिलाले दिन प्रतिदिन विदेशमा गएको ठूल्ठूला भूकम्पको समाचारले आफूहरुलाई अत्यन्तै चिन्तित र त्रसित तुल्याएको बताएका छन् । उनीहरु भन्छन्– “हाम्रो बस्ती असुरक्षित छ तर हाम्रो जाने ठाउँ पनि छैन । हामी दुर्गममा भएकै कारण सरकारी सेवा पुग्दैन ।” मार्बु गाविसका स्थानीय बुद्धिजीवी मिङमा शेर्पा भन्नुहुन्छ– “भूकम्पले पहाड खसे हाम्रो ज्यान खस्ने छ, हाम्रो बस्ती पहाड नै पहाडले घेरिएको छ । हामी सुरक्षित छैनाँै । यो कुरा सरकारलाई भनिदिनु प¥यो ।” उहाँ भन्नुहुन्छ– “पहाडभित्र दुःखका पहाड बोकेर हामी बाँचिरहेका छौँ, कसलाई सुनाउने ? सुनिदिने कोही भएन ।” यहाँ सहमति नामक एक गैरसरकारी संस्थाले ४०० घरपरिवारलाई अस्थायी आवास (घर) निर्माण गरिदिएको छ ।
आफ्नो पाँच जनाको परिवारसँग यसै संस्थाले बनाइदिएको टहरामा बस्दैआएकी मार्बु–८ सिक्पाश्वर टोलकी लफुटी शेर्पा भन्नुहुन्छ – “यस संस्थालाई हामीले बाँचुन्जेल सम्झने छौँ । हाम्रो टाउको लुकाउने ठाउँ बनाइदिएको छ । यो घर नबनाइदिएको भए हामी र हाम्रा बालबच्चाको बिचल्ली हुने थियो ।”
यस गाविसमा विशेषगरी जनजातिको बाहुल्यता रहेको छ । यहाँ धेरैजसो शेर्पा समुदायका मानिस बसोबास गर्छन् । गुरुङ, तामाङ, दलितलगायत समुदायको बसोबास रहेको यो दुर्गम बस्तीमा पढेलेखेका मानिस कमै छन् । उनीहरुको आफ्नो दैनिकी खेती किसानी गरेर नै बित्ने र खेती किसानी गरेर पनि बाह्रै महिना खान नपुग्ने बताउहुन्छ, लफुटी शर्पा । गाउँघरमा भएका युवा विदेशिएका छन् दुःख गरेर कमाएको पैसाले बनाएको घर भूकम्पले ध्वस्त पारिदियो घर भत्किएसँगै हाम्रो मन पनि भत्किएको छ ।
यहाँका स्थानीय जनतालाई यही असुरक्षित पाखामा स्थायी घर बनाउँदा पहाडको डर छ । नबनाऔँ अन्त बनाउने ठाउँ छैन । वरिपरि पहिरोको पहाड देख्दा उनीहरुको मनमा पहिरो जान्छ । “कतै फेरि भूकम्पले भत्काइदिने पो हो कि ?” उनीहरु भन्छन् – हिजो सरकारका केही मान्छे आएर तिमिहरुको बस्ती असुरक्षित छ त भने तर अहिलेसम्म कुनै व्यवस्थापन हुन सकेको छैन । हामी पीडामा बाँचिरहेका छौँ । बस्ती चिराचिरा परेका छन्, जताततै पहाडको पहिरो हेरिनसक्नु छ ।
आजभोलि समाचारमा दैनिकजसो भूकम्प गएको समाचार र भूकम्पले पु¥याएको क्षतिका समाचार आउने गरेको छ । भूकम्पका समाचार सुन्न नपाए सुखका साथ रात र दिन काटिन्थे होला भन्ने स्थानीयवासी दुखेसो पोख्छन् । हाल नवलपरासीमा रहेको सहमति नामक संस्थाले दाताको सहयोगमा करिब रु एक करोड ३६ लाख खर्चेर मार्बुका सबै घरपरिवारलाई अस्थायी आवास निर्माण गरिदिएको संस्थाका सल्लाहकार भिमप्रसाद शर्माले बताउनुभयो ।
स्थानीयवासी भने सरकारले दिने रु दुई लाख अनुदानका विषयमा आफूहरुलाई जानकारी नभएको बताउँछन् । सहमति संस्थाले दोलखाका विभिन्न छ गाविस सुस्पाक्षमावर्ती, बोच, मागापौवा, पवटी, घ्याङसुकाठोकर र मार्बुमा गरी दाताको सहयोगमा तीन हजार ३७० घरटहरा तथा चर्पी निर्माण गरिदिएको बताएको छ । रासस
No comments:
Post a Comment