काठमाडौँ, १९ चैत । ‘गोरखा भूकम्प’पछि भएका क्षति, राहत तथा पुनःनिर्माण लगायत कार्यक्रमलाई समेटेर खिंचिएका तस्बिरको प्रदर्शनी काठमाडौँस्थित सिद्धार्थ आर्ट ग्यालरीमा आजदेखि सुरु भएको छ ।
संयुक्त राष्ट्र सङ्घ, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)मा कार्यरत कर्मचारीले त्यस दौरानमा खिंचेका ४८ चित्र प्रदर्शनीमा राखिएका छन् । यही चैत २६ गतेसम्म चल्ने प्रदर्शनीमा समीरजङ्ग थापा, प्रकाश माथेमा, टिना स्टासेई थापा, सारा बउमन, मार्को फ्राट्टिनी, जोई जोन्स लगायत आठभन्दा बढी छविकारले खिंचेका तस्बिर प्रदर्शनीमा छन् ।
तस्बिरमा भूकम्पको क्षति, राहत सामग्री वितरण, ढुवानी गर्दै गरेका भरिया, चौँरी गाई, खच्चर, उद्धारपछि आफ्ना सन्तान बोकेका महिला, दुर्गम ठाउँमा हेलिकप्टरले खाद्यान्न पठाएका दृश्य, सुत्केरीलाई पोषणतत्व प्रदान, राहत पु¥याउन खनिएको गोरेटो बाटो, सुरक्षाकर्मीले जोखिम मोलेर उद्धार गरेका लगायत दृश्य छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै डब्लुएफपीका प्रतिनिधि तथा देशीय निर्देशक पिप्पा ब्राडफोर्डले भूकम्पपछिको राहत तथा पुनःनिर्माणका लागि आफ्नो सस्ंथाले डटेर काम गरेको जानकारी दिँदै आगामी दिनमा पनि यहाँको सरकार र निजी संस्थाको सहकार्यका उक्त कार्य जारी राखिने बताउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले अब दुई हप्ताभित्रै पुनःनिर्माणको काम सुरु हुने जानकारी लिँदै त्यसका लागि आफूहरु अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, यहाँका संस्थालगायत सबै जनतासँग हातेमालो गरेर अघि बढ्न चाहेको बताउनुभयो । रासस
No comments:
Post a Comment