पोखरा, ३ वैशाख । बिनाअक्सिजन भूमि समाधिमा बस्नुभएका सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी आठ दिनपछि आज सकुशल भूमि समाधिबाट बाहिर निस्कनुभएको छ ।
चैत २६ गते साँझ ६ः३० बजेबाट पोखरा रामघाटस्थित मन्दिरमा भूमि समाधिमा बस्नुभएका गुरु सिद्धबाबा आज बिहान १० बजेर २० मिनेटमा बाहिर निस्कनुभएको थियो ।
समाधिलाई पूर्णरुपमा माटोले पुरेका कारण निकाल्न झन्डै ४५ मिनेट लागेको थियो । समाधिबाट निस्कँदा सिद्धबाबा पूर्णरुपमा पसिनाले भिज्नुभएको थियो ।
उहाँ बाहिर निस्कने बेलामा उहाँका प्रथम चेला गोविन्दबाबा शर्माले जलार्पण गरेर तिलक लगाउनुका साथै कुम, कानको दुवैतिर र शिरमा पञ्चामृत छर्कनुभएको थियो भने त्यसपछि सिद्धबाबा आफै उठ्ने प्रयास गरे पनि चेला गोविन्दबाबा र उनका सहयोगीले सहायता दिएर उठाएका थिए । भूमि समाधिबाट उठेपछि उहाँ कोही कसैसँगै बोल्नु भएन । उठेलगत्तै उहाँले पञ्चामृत ग्रहण गर्नुभएको थियो ।
बाहिर निस्केलगत्तै डा कालु शर्मा, डा नारायण गौतमलगायतका चिकित्सकको विशेषज्ञ टोलीले सिद्धबाबाको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । स्वास्थ्य परीक्षणमा सिद्धबाबाको सम्पूर्ण स्वास्थ्य सामान्य अवस्थामा रहेको चिकित्सकको टोलीले निष्कर्ष निकालेको थियो ।
सिद्धबाबाले समाधि बाहिर निस्केको हेर्न पुगेका हजारौँ दर्शकलाई समाधि बसेकै घरको पहिलो तल्लाको कौसीबाट दर्शन दिनुभएको थियो । उहाँले हात हल्लाएर सबैलाई अभिनन्दन मात्र गर्नु भयो कसैसँग केही बोल्नु भएन । रासस
No comments:
Post a Comment