Monday, April 18, 2016

महान्यायाधिवक्ता फुयाँलद्वारा पदबहाली

काठमाडौँ, ६ वैशाख । नवनियुक्त महान्यायाधिवक्ता हरि फुयाँलले आज पदबहाली गर्नुभएको छ ।

पद तथा गोपनीयताको सपथ लिएलगत्तै उहाँले महान्यायाधिवक्ताको कार्यालयमा पुगी कार्यभार सम्हाल्नुभयो । फुयाँललाई आजै राष्ट्रपति कार्यालय, शीतल निवासमा कामु प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।

सरकारको कानुनी सल्लाहकारका रूपमा रहने महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । आइतबार प्रधानमन्त्री ओलीले फुयाँललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेपछि राष्ट्रपतिले उहाँलाई नियुक्त गर्नुभएको थियो । यसअघिका महान्यायाधिवक्ता हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएपछि उक्त पद रिक्त थियो ।

फौजदारी न्याय प्रणाली र मानवाधिकार कानुनमा विशेषज्ञता हासिल गर्नुभएका फुयाँल २५ वर्षदेखि कानुन व्यवसायीका रूपमा क्रियाशील हुनुहुन्छ । उहाँसँग संयुक्त राष्ट्र सङ्घमा काम गरेको अनुभव समेत छ । मोरङको राजघाट गाविसमा विसं २०२७ मा जन्मिनुभएका फुयाँलले मोरङकै जनसेवा माविबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको थियो ।

उहाँले धरानको महेन्द्र क्याम्पसबाट आइएल, नेपाल ल क्याम्पस, काठमाडौँबाट बिएल तथा भारतको नेसनल ल स्कुल, बैङ्लोर र बेलायतबाट एलएलएम गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts