काठमाडौँ, २६ वैशाख । सरकारले संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलमा आधारित सन्तुलित परराष्ट्र नीति कायम गर्दै सबै मित्रराष्ट्रसँगको राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध सुदृढीकरणमा जोड दिएकोे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउँदै राष्ट्रिय हितको रक्षा गरिनेमा जोड दिइएको छ ।
छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई पारस्परिक हित, समानता, सहयोग र सौहार्दताका आधारमा अझ सुदृढ गर्ने तथा प्रधानमन्त्रीद्वारा छिमेकी मित्रराष्ट्रको राजकीय एवम् औपचारिक भ्रमणका क्रममा भए गरिएका दुई पक्षीय सन्धि, सम्झौता र समझदारी अनुरूप परियोजना र कार्यक्रमलाई कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)मा सक्रिय भूमिका निर्वाह गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलनको तयारी गरिनेछ ।
विश्वशान्तिको प्रवद्र्धनका लागि संयुक्त राष्ट्रसङ्घमा नेपालले खेल्दै आएको भूमिकालाई अझै प्रभावकारी बनाइनेछ । साथै, अति कम विकसित तथा भूपरिवेष्ठित मुलुकका अधिकारका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय भूमिका निर्वाह गर्नेछ । मुलुकको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिबीच सामञ्जस्य कायम गरिने पनि नीति तथा कार्यक्रममा जनाइएको छ । रासस
No comments:
Post a Comment