काठमाडौँ, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा व्यवस्थापिका–संसद्मा आज प्रस्तुत नीति तथा कार्यक्रममा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच हुने मौलिक हकलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहने उल्लेख गरिएको छ ।
निःशुल्क आधारभूत स्वास्थ्य सेवा, औषधि वितरण, मातृ तथा नवजात शिशु, बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वमा जोड दिइने, सुनौलो हजार दिन कार्यक्रम सघन रूपमा अघि बढाइने, सघन आकस्मिक प्रसूति सेवा एवम् नवजात शिशु सेवा ७५ जिल्लामा क्रमशः बिस्तार गरिने, राष्ट्रिय स्वास्थ्य बिमालाई स्वास्थ्य सुरक्षाको अभिन्न अङ्गका रूपमा अघि बढाइने नीति तथा कार्यक्रममा रहेको छ ।
नीति तथा कार्यक्रममा आयुर्वेद, अन्य पूरक चिकित्सा सेवा र आधुनिक चिकित्सा सेवालाई एकद्वार प्रणालीबाट दिने व्यवस्था परीक्षणका रूपमा सुरु गरिने, आयुर्वेदिक औषधिको विश्वसनीयताका लागि सिंहदरबार वैद्यखानामा समुचित उत्पादन प्रक्रिया अपनाइने जनाइएको छ ।
अस्पतालको भौतिक अवस्थामा सुधार र स्रोतसाधनमा वृद्धि गर्नुका साथै अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन, औषधि व्यवस्था विभागको प्रयोगशाला सुदृढीकरण तथा फार्मेसीको अनुगमन, औषधिको गुणस्तर र मूल्य नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाइने, महिला स्वास्थ्य स्वयम्सेविकाको सामाजिक योगदानको कदर गर्दै उनीहरूलाई प्रदान गरिँदै आएको प्रोत्साहन खर्चमा वृद्धि गरिने, उनीहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ । स्वास्थ्य सेवामा स्वयम्सेवी संस्थालाई उत्प्रेरित गरिने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।
नीति तथा कार्यक्रममा बालबालिकाको उचित पालनपोषणबाट मात्र स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यका साथ सुरु गरिएको ‘बालसंरक्षण कार्यक्रम’लाई क्रमशः मुलुकभरका सबै बालबालिकालाई समेट्ने गरी बिस्तार गरिने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिने, ज्येष्ठ नागरिक दीर्घसेवा सम्मान तथा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिने उल्लेख छ ।
साथै, वृद्धवृद्धाका लागि दिवा सेवा केन्द्र स्थापना गर्न सामुदायिक संस्थासँग सहकार्य गरिने परम्परागतरूपमा रहेका सामाजिक कूरीति र कुप्रथाविरुद्धको अभियानलाई निरन्तरता दिइने, पूर्ण अशक्त र अपाङ्गता भएका व्यक्तिको परिवारका एक जना सदस्यलाई हेरचाहसम्बन्धी र रोजगारमूलक तालिम उपलब्ध गराइने कार्यक्रममा उल्लेख छ । रासस
No comments:
Post a Comment