काठमाडौँ, २६ वैशाख । व्यवस्थापिका–संसद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशनलाई आज गर्नुभएको सम्बोधनका लागि राष्ट्रपतिमा धन्यवाद ज्ञापन गरेको छ ।
नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संसद्को आजको दोस्रो बैठकमा प्रस्तुत गर्नुभएको सो धन्यवाद प्रस्तावलाई एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतक हितराज पाण्डेले समर्थन गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम आज अपरान्ह व्यवस्थापिका–संसद्मा सम्बोधन गर्नुभएको थियो ।
व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशनमा राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो ।
नीति तथा कार्यक्रममाथि यही वैशाख २८, २९ र ३० गते छलफल हुने र सो छलफलमा उठेका जिज्ञासामाथि प्रधानमन्त्री ओलीले वैशाख ३१ गते जवाफ दिनुहुने सभामुख ओनसरी घर्तीले बैठकमा जानकारी दिनुभयो ।
उहाँले नीति तथा कार्यक्रममाथि संशोधन भएमा भोलि बिहान १० बजेदेखि ५ बजेसम्म प्रस्ताव दर्ता गराउन समय निर्धारण गरिएको जानकारी दिनुभयो ।
व्यवस्थापिका–संसद्को अर्काे बैठक वैशाख २८ गते बिहान ११ बजे बस्नेछ । रासस
No comments:
Post a Comment