Tuesday, May 3, 2016

आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने एमाओवादीको निर्णय

काठमाडौँ, २२ वैशाख । एकीकृत नेकपा(माओवादी)ले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र भूकम्पपछिको पुनःनिर्माणलाई अगाडि बढाउन राष्ट्रिय सहमतिको सरकार बनाउनु जरुरी रहेको आँैल्याएको छ ।

बैठकपछि अध्यक्ष दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘‘राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान कार्यान्वयन र पुनःनिर्माणको कार्यलाई केन्द्रविन्दुमा राखेर हाम्रो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा(एमाले)को नेतृत्वको वर्तमान सरकार गठन गर्न सहभागिता जनाएको हो ।
हाम्रो पार्टीले उपर्युक्त विषयमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हाँै । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणामुखी कार्य अगाडि बढाउन सकेको देखिएन ।’’

विज्ञप्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गरी बाँकी रहेको कार्यभार पूरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा एमाओवादी, एमाले, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)लगायत सबै पार्टीलाई आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पूरा गर्ने प्रक्रियामा अघि बढ्न आह्वान गरिएको छ ।

सत्तारुढ दल एमाले र एमाओवादीबीच मङ्गलबार साँझ द्विपक्षीय संवाद भए पनि ठोस सहमति हुन नसकेपछि एमाओवादीले आज स्थायी समितिको बैठक राखेर उक्त निर्णय गरेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts