काठमाडौँ ९ जेठ । पोखरेली कलाकारको पानी रङ्गको चारदिने चित्रकला प्रदर्शनी आज यहाँ सम्पन्न भएको छ ।
‘पानी रङ्गमा पोखरा’ शीर्षक दिइएको सो प्रदर्शनीमा कला संस्कृतिले धनी पोखराका दुई पुस्ताका प्रतिनिधि कलाकारका ६२ कला कृति समावेश थियो ।
पहिलो पुस्ताका दुर्गा बराल, बुद्धि गुरुङ, एलपी गुरुङ र दोस्रो पुस्ताका पदम घले, विश्वराज पराजुली र सूर्य बराइलीका पानी रङका कलाकृति प्रदर्शनीमा राखिएका थिए ।
प्रभू बैँक लिमिटेड, इभेन्ट म्यानेजमेन्ट संस्था रेशमको सहयोग तथा पोखरेली युवा सांस्कृतिक परिवारले प्रदर्शनीको आयोजना गरेका हुन् ।
नेपालका लागि फ्रान्सेली राजदूत वाई बेस क्यारामोनाले प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । प्रदर्शनभरि १३ कलाकृति बिक्री भएको सिर्जनशील कलाकार समूहका अध्यक्ष विश्वराज पराजुलीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा पाँच कलाकारका ६२ तस्बिर राखिएको थियो । प्रदर्शनमा १५ हजारदेखि ५० हजारसम्मका तस्बिर राखिएका थिए ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट, कला विभागका संयोजक मिलन शेरचन र साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सो प्रदर्शनीको संयोजन गर्नुभएको थियो । रासस
No comments:
Post a Comment