भक्तपुर, ९ जेठ । काभ्रेपलाञ्चोक महादेवस्थान गाविस वडा नं ८ मण्डन पौवाका २८ वर्षीय श्याम श्रेष्ठलाई युवती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोट जिल्लाको रातोमाटे गाविस–१ महादेवस्थान घर भई हाल सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा बस्ने १८ वर्षीया अञ्जना थापाको हत्या आरोपमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
आज महानगरीय प्रहरी वृत्त जगातीमा आयोजित पत्रकार सम्मेलनमा हत्या आरोपी श्रेष्ठलाई सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले युवतीको हत्यापछि फरार रहेका श्रेष्ठलाई प्रहरीले दाङको लमहीबाट पक्राउ गरेको जानकारी दिनुभयो ।
विगत तीन वर्षदेखि सूर्यविनायक चोकस्थित गणेशकुमार दुवालको घरमा लिभिङ टुगेदरका रुपमा बस्दै आएका श्रेष्ठ र थापाबीच गत वैशाख २१ गते राति भएको झगडामा आक्रोशमा आएर श्रेष्ठले थापालाई कुटपिट गरी हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो ।
कक्षा १० मा नुवाकोटको विद्यालयमा पढ्दै गरेकी थापा र त्यहीँ सवारी चालकका रुपमा रहेका श्रेष्ठबीच भेटघाट भएपछि बढेको सम्बन्धका कारण श्रेष्ठले थापालाई विगत तीन वर्षदेखि भक्तपुरमा ल्याएर राखेका थिए ।
श्रेष्ठको त्यसअघि नै प्यूठान बाङ्गेसाल घर भएकी रेखा सुनारसँग प्रेम विवाह गरी पाँच वर्षको छोरासमेत भएपनि श्रेष्ठले थापालाई भक्तपुरमा ल्याएर विवाह गर्ने प्रलोभन दिई दुवै लिभिङ टुगेदरमा तीन वर्षदेखि सँगै बस्दैआएका थिए । कोटेश्वर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययन गर्ने थापा र भक्तपुरमा मिनिबस चलाउँदै आएका श्रेष्ठबीच विगत तीन महिनादेखि विवाद सुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
घटना भएको दिन गत वैशाख २१ राति दुवैबीच भएको विवाद झगडामा परिणत भई श्रेष्ठले कुटपिट गरी थापाको हत्या गरेपछि शवलाई खाटमा सुताएर कम्बल ओढाई फरार भएका थिए ।
भक्तपुरको इँटाभट्टामा काम गर्ने श्रीमती सुनार र छोरालाई लिएर कपिलवस्तुको कृष्णनगर हुँदै भारतको पञ्जाब लुधियाना पुगेका श्रेष्ठलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गर्न खोजेका थिए ।
श्रीमतीलाई माइत छोड्न नेपाल आउन लागेको प्रहरीले थाहा पाएपछि श्रेष्ठको पिछा गर्दै आएको प्रहरी टोलीले लमही प्रहरीको समेत सहयोगमा पक्राउ गरी भक्तपुर ल्याएका थिए ।
प्रहरीले हत्या आरोपी श्रेष्ठविरुद्ध थप अनुसन्धान जारी राख्दै जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment