काठमाडौँ, १५ जेठ । सरकारले वैज्ञानिकहरुको प्रोत्साहनका लागि स्वदेशमै अध्ययन अनुसन्धानमा सक्रिय रहने वातावरण सिर्जना गर्ने भएको छ ।
आगामी आव २०७३÷७४ को बजेटमार्फत सरकारले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न अनुसन्धान वृत्तिको व्यवस्था गरेको हो ।
नयाँ आविष्कार गर्ने वैज्ञानिकलाई पुरस्कृत गर्ने नीति लिएको सरकारले आगामी आव राष्ट्रिय वैज्ञानिक सम्मेलनको आयोजना गर्नुका साथै पारमाणिक पदार्थहरुका नियमनसम्बन्धी विधेयक र सूचना प्रविधिसम्बन्धी छाता ऐनको विधेयक व्यवस्थापिका–संसद्समक्ष पेस गर्ने जनाएको छ ।
सरकारले विकास र वातावरणबीच सन्तुलन कायम गर्न नीतिगत र कानुनी व्यवस्थाका साथ विकास आयोजनाहरुको वातावरणीय प्रभाव मूल्याङ्कन, छिटो, छरितो र सरल रुपमा सम्पन्न गर्ने प्रणालीको विकास गर्ने भएको छ ।
जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्न अन्तर्राष्ट्रिय सहायता परिचालनका लागि राष्ट्रिय क्षमताको विकास गर्ने जनाएको छ ।
मानव स्वास्थ्य र सहरी सौन्दर्यलाई मध्यनजर गर्दै प्लास्टिक तथा पोलीथिनका झोला आयात निर्यात, बिक्री वितरण र उपयोग गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तो झोला उत्पादनमा संलग्न उद्योगलाई वैकल्पिक उत्पादनमा लाग्न प्रेरित गरिनेछ । रासस
No comments:
Post a Comment