काठमाडौँ, २२ वैशाख । जनपक्षीय चलचित्र कलाकार सङ्घले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर आज यहाँ विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, सङ्घका अध्यक्ष केशव भट्टराईलगायतले नेपाली चलचित्र क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्नुभयो ।
सम्मानित हुनेमा पूर्वसूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेल, वरिष्ठ चलचित्रकर्मी यादव खरेल, पोस्टर डिजाइनर सुन्दर श्रेष्ठ हुनुहुन्थ्यो । त्यस्तै, कान्छा निर्देशक भएका गिनिज बुकमा नाम लेखाएका सौगात विष्ट र अष्टनारायण पिक्चर्स प्रालिका सञ्चालक त्रिरत्न मानन्धरलाई पनि सम्मान गरियो ।
त्यसैगरी, कार्यक्रममा नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवाली गायक मधु क्षेत्रीलगायतलाई कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति दिइएको थियो । जसमा कलाकार गजित विष्ट, निरु खड्का, विनु खड्का, सारिका घिमिरे तथा गायकगायिका युवराज चौलागाईं दुर्गा परियारको प्रस्तुति थियो ।
कार्यक्रममा मन्त्री पोखरेलले देशमा रहेका विविध जातजाति, भाषाभाषी र तिनका संस्कृतिलाई समेट्दै चलचित्र निर्माण गर्न चलचित्रकर्मीलाई आग्रह गर्नुभयो । चलचित्र उद्योग अब ंछुट्टै संस्कृति मन्त्रालयअन्तर्गत हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो– “देशको सिङ्गो संस्कृतिको अभिव्यक्ति चलचित्र हो, त्यसैले यसको उत्थानका लागि छुट्टै मन्त्रालय चाहिन्छ ।”
सङ्घका अध्यक्ष भट्टराईले पेसासँगै राजनीतिक रुपमा पनि सजग हुन आफ्नो सङ्गठनको स्थापना भएको बताउँदै सबै चलचित्रसम्बन्धी मुद्दामा सबै चलचित्रकर्मी एकजुट हुनुपर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment